चीनकाजी श्रेष्ठ
प्रमुख सचेतक नेपाली कांग्रेस
बजेट तोकिएको समयमा नआउनुको कारण के हो ?
प्रधानमन्त्रीको अनुपस्थितिले गर्दा ढिला भएको होइन । प्रधानमन्त्रीको अनुपस्थितिमा त नीति तथा कार्यक्रम नै आइसक्यो नि । राष्ट्रपतिले संसदमा आएर सम्बोधन गर्नुभयो । त्यसकारण प्रधानमन्त्रीको अनुपस्थितिले गर्दा रोकिएको होइन । एमाले कै महाधिवेशनले गर्दा बजेट ल्याउन केही ढिला भएको हो । तर, अब धेरै ढिला हुँदैन २९ गते जसरी पनि बजेट ल्याउनुपर्छ र आउँछ पनि ।
सरकारले जुन गतिमा काम गर्नुपथ्र्यो, त्यो काम प्रधानमन्त्रीको अनुपस्थितिमा नभएको हो ?
त्यो त तपाईहरुलाई थाहा हुने कुरा हो । प्रधानमन्त्री हुँदा र नहुँदामा त अवश्य पनि फरक पर्छ । प्रधानमन्त्री नहुँदा पनि दैनिक कार्य संचालन गर्ने कुरा त भइरहेकै छ । उहाँको अनुमतिमा नीति तथा कार्यक्रम आएको छ । बजेट पनि आउँछ प्रधानमन्त्री कै अनुपस्थितिमा । तर, अरु काम छन नी, जस्तै २६ जना मनोनित गर्ने कुरालगायत महत्वपुर्ण कुराको हकमा भने अलि अप्ठ्यारो भएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक कार्यसंचालनका काम मात्र भएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति पछिल्लो समय कस्तो छ ? प्रधानमन्त्री अब कहिलेसम्म स्वदेश फर्कनु हुन्छ ?
हिजोमात्र (बुधबार) प्रधानमन्त्रीलाई अन्तिम पटक रेडियो थेरापी सम्पन्न भएको छ । अब आज वा भोलीभित्र डाक्टरहरुले अन्तिम रिपोर्ट दिन्छन् । अनि त्यो रिपोर्टका आधारमा प्रधानमन्त्रीलाई स्वदेश फर्कन सुझाव दिने कुरा हुुन्छ । अब एक सातादेखि दश दिनभित्रमा आराम गरेर स्वदेश फर्कनुहुन्छ ।
लामो समयसम्म उपचार गरेर फर्कने प्रधानमन्त्री तत्काल काम गर्न सक्ने अवस्था नहुन सक्छ । यस्तो अवस्थामा पार्टी उपसभापतिलाई सरकारमा ल्याएर कार्यवहाक
बनाउने कत्तिको संभावना छ ?
त्यस विषयमा कुनै छलफल भएको छैन । रामचन्द्र दाईलाई त हामीले सभापतिको अनुपस्थितिमा कार्यवहाक सभापति भनेर सम्बोधन गरेका छौं । सभापतिले पनि मौखिक रुपमा उँहालाई नै कार्यवहाक सभापति दिनु भएको छ । कार्यवहाक सम्हाल्नु भएकै छ । तर, सरकारको विषयमा भने कुनै छलफल भएको छैन् । कार्यवहाक प्रधानमन्त्री त वामदेव गौतम नै हुनुहन्छ नी । वामदेवजीले राम्रोसँग काम गर्नु भएको छ । उँहा जिम्मेवार व्यक्ति हुनुहुन्छ । दुई पार्टीको सरकार संचालन सहमतिको आधारमामात्र काम हुन्छ । त्यस कारण अहिले नै अरु कसैलाई कार्यवहाक दिने भन्ने कुरा उचित होइन र त्यस विषयमा कुनै छलफल पनि भएको छैन् ।
एमालेको जारी महाविधेशनबाट चुनिएर आउने नयाँ नेतृत्वपछि कांग्रेस–एमालेको सहकार्यमा असर पर्ने संभावना कत्तिको देख्नुहुन्छ ?
पटक्कै देख्दिन । एमालेको नेतृत्वमा जो व्यक्ति आएपनि अहिलेको जटिल अवस्थामा सरकारलाई कुनै असर पर्दैन् । अहिले जसरी पनि माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने अवस्था छ । त्यसलाई ओझेलमा पार्ने गरी सरकार परिवर्तन गर्ने, अनावश्यक कुरामा अल्झिने, नयाँ झन्झटमा फस्ने काम एमालेको नेतृत्वमा जुन नेता आए पनि हँदैन भन्ने कुरामा म विश्वस्त छु, ढुक्क छु । अहिले सबै दल सबै सभासद पहिला संविधान जारी गर्ने कुरामा चिन्तित छन् । संविधान जारी नभएसम्म कांग्रेस–एमाले सहकार्य जारी रहन्छ ।
२६ जना सभासदको मनोनयन कहिले हुन्छ ?
२६ जना सभासद मनोनयन गर्ने विषयमा सबै दलसँग छलफल भइरहेको छ । यस विषयमा एमालेको महाधिवेशनले गर्दा पनि केही ढिला भएको हो । अब एमालेको महाधिवेशन पनि सकिन्छ । प्रधानमन्त्री पनि फर्कनुहुन्छ । संवैधानिक अंगका प्रमुखको नियुक्तीको कुरा, विभिन्न देशमा रिक्त राजदुत नियुक्तीको कुरा, व्यवस्थापिका संसद अन्र्तगतका समितिका सभापति चयनको कुरा अब छिटै हुन्छ । ती कुराले संविधान निर्माणमा कुनै असर पर्दैन् ।
अहिले संविधानसभामा जसरी काम भइरहेको छ त्यो गतिमा काम हुँदै गयो भने तोकिएको मितिभित्र संविधान जारी हुने अवस्था कत्तिको छ ?
सबै पार्टीको सहमतिमा संविधान माघ ८ मा जारी गर्ने गरी कार्यतालिका बनेको छ । काम पनि त्यही रफ्तारमा अगाडि बढेको छ । सबै दलसँग सहमति गरी संविधानसभा बाहिर रहेका दलहरुसँग पनि संविधानका अन्र्तवस्तुमा सहमति गरेर संविधान जारी गर्ने काममा कुनै कसर बाँकी राखिँदैन् । त्यसो गर्दा तोकिएको समयभित्रै जारी हुन्छ भन्ने लाग्छ । त्यसो हुन सकेन भने पनि त्यसकै सेरोफेरोमा संविधान जारी हुन्छ ।
अहिले सहमति भएन भने प्रक्रियामा जाने भन्ने कांग्रेस–एमालेको अडान छ । एमाओवादी र मधेस केन्द्रित दल भने सहमतिमा संविधान जारी गर्नुपर्छ भनिरहेका छन । यस्तो अवस्थामा मिलन विन्दु के हुन सक्छ ?
हामीले पेलेर ठोकेर लैजान्छौं कहाँ भनेका छौं र । हामी सबैलाई सहमतिमा ल्याएर प्रमुख प्रतिपक्षलाई साथमा लिएर र संविधानसभा बाहिर रहेका दलहरुको पनि सहमतिमा संविधान जारी गर्ने हो । तर, केही गरी पनि सहमति भएन भने त प्रक्रियामा त जानै पर्यो नि ।