काठमाडौँ, २८ मंसिर ।
चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओको नेपाल भ्रमण हुन लागेको हो । एक उच्चस्तरीय चिनियाँ प्रतिनिधीमण्डलको नेतृत्व गरी उनी चार्टड प्लाइटबाट काठमाडौ उत्रिनेछन् ।
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ नै उच्च अधिकारी हुन् । तिन दिन काठमाडौमा रहंदा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग भिन्दा-भिन्दै भेटवार्ता गर्नेछन् ।
उपप्रधानमन्त्री सरहको मर्यादामा रहेका उनलाई चीनमा ‘प्रोपागान्डा मिनिस्टर’ भनेर बढी चिनिन्छ । हाल चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य रहेका उनले सन् १९७४ मा राजनीतिक करियर शुरु गरेका हुन् । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तको सचिव नियुक्त भएका थिए ।
कुटनीतिक स्रोतका अनुशार चिनियाँ राष्ट्रपति सि जिनपिङ्को सम्भावित नेपाल भ्रमणको प्रारम्भिक तयारीका सिलसिलामा चिनियाँ उच्च नेता नेपाल आउन लागेका हुन् । दाहाल नेतृत्वको सरकारले पूववर्ति सरकारका पालामा भएका ऐतिहासिक पारवहन यातायात लगायत सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताका कारण चीनका तर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । यद्यपी चिनियाँ पक्षले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे औपचारिक रुपमा केही नबताएको जानकार स्रोतले बतायो ।
अन्नपूर्णपोष्टबाट