बेइजिङ जान बैंककको बाटो

177
  •  
  •  
  •  

काठमाडौँ, ८ पुस(ओएनएस) : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा पाँच दिने औपचारिक भ्रमणका लागि आज बुधबार चीन जाँदै छन् । नेपालसँग सीमा जोडिएको उत्तरी छिमेकी मुलुकको औपचारिक भ्रमणमा जाँदा उनी थाइल्याण्डको बैंकक ट्रान्जिट गर्नेछन् । त्यसपछि मात्र उनी बेइजिङ जानेछन् ।

आज परराष्ट्रमन्त्री थापासहितको टोली थाइ एयरको बिमानमा दिउँदा पौने २ बजे बैंकक प्रस्थान गर्नेछ । भारतको अघोषित नाकाबन्दी जारी रहेका बेला हुन लागेको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वर्षगाँठका अवसरमा हुन लागेको उच्चस्तरीय भ्रमणमा द्विपक्षीय सहायता तथा व्यापार र पारवहन सम्झौता प्रमुख एजेन्डा रहेका छन् । भारतको नाकाबन्दीबाट उत्पन्न समस्या समाधानमा चिनियाँ सहयोगका लागि विशेष पहल हुनेछ ।

यसअघि नेपालको राजनीतिक नेतृत्वले चीनसँगको सम्बन्धलाई खासै महत्व नदिएको भन्दै नेपालमा आलोचना भएको थियो । चिनियाँ पक्षले पनि यसमा असन्तुष्टि जनाउँदै आएको थियो । भारतमा दुई–दुईपटक उपप्रधान तथा परराष्ट्रमन्त्री जाँदा पनि चीनतर्फको संवाद राजनीतिक तहमा हुन सकेको थिएन । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन दुईपटक चीन गए पनि म्याण्डेटै नलिएर अनौपचारिक भ्रमण मात्र गरेर फर्केका थिए ।

चीनसँग द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा), स्वतन्त्र व्यापार सम्झौता (एफटीए), पारवहन तथा यातायात सम्झौता र इन्धन आयात सम्झौता गर्ने तयारी छ । चीनसँग कूटनीतिक स्तरबाट एक महिनादेखि ती विषयमा कुराकानी भइरहे पनि टुंगोमा पुग्न सकेको छैन ।

नेपालका लागि तत्काल इन्धन खरिद सम्झौता आवश्यक रहेको छ । तर, नेपालको आयल निगम र वाणिज्य मन्त्रालयका कर्मचारीहरुले चीनबाट इन्धन आयातमा जटिलता बढी देखाएर प्रतिवेदन दिएका कारण सरकारी अधिकारीहरु यसमा धेरै आशावादी छैनन् । यद्यपि, राजनीतिक भेटघाट र संवादका क्रममा गम्भीरतापूर्वक नेपालका तर्फबाट प्रस्तुत हुने हो भने चिनियाँ पक्ष नेपालको इन्धन आपूर्तिमा भरपर्दो र दीर्घकालीन रुपमा साझेदार बन्न इच्छुक रहेको स्रोतको भनाइ छ ।


  •  
  •  
  •