विराटनगर, ६ चैत(ओएनएस) : एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित बनाउनका लागि हुन लागेको बताएका छन् ।
एमालेले सञ्चालन गरेको मेची कोशी पर्यटन अभियान सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा शनिबार बिहान प्रेस चौतारी मोरङले विरानगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले चीन भ्रमणलाई भारत विरोधी भएको भन्न नमिल्ने बताएका छन् । उनले भने, ‘चीन भ्रमणका क्रममा नेपालकै हितमा सम्झौता हुने भएकाले यसलाई भ्रमण भारत विरोधी हो भनेर भन्न मिल्दैन ।’
भारत र चीनसँग नेपालको सम्बन्धलाई प्रगाढ बनाउँदै दुवै देशसँग सन्तुलित व्यवहार गर्नु पर्ने भएकाले प्रधानमन्त्रीले चीन भ्रमण गर्न लागेको उनको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्र हित, अखण्डता र नेपाली जनताको हितलाई ध्यानमा राखेको सम्झौता गरिएको भन्दै उनले चीनसँग पनि यस्तै खालको सम्झौता हुने बताए ।
उनले परावहन, व्यापार लगायतका दिर्घकालिन सम्झौता गरिने भएकाले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुने बताए ।
उनले मुलुकमा संक्रमणकालिन अवस्था कायम रहेको भन्दै राजनीतिक समिकरणको जगमा अहिलेको सरकार बनेकाले सरकार परिवर्तनको सम्भावना नरहेको जिकिर गरे । संविधान निर्माण र घोषणामा एकै ठाउँमा उभिएको काँग्रेसले अहिले मुख्य प्रतिपक्षी हुने रहर गरेर गल्ती गरेको उनले दोहोर्याए ।
उनले नेपालमा राजनैतिक अधिकार प्राप्तीको आन्दोलन टुँगिएको बताउँदै मुलुकलाई समृद्धितर्फ अघि बढाउन आर्थिक क्रान्ति गर्नु पर्ने बताए । पोखरेलले मुलुकको समृद्धिका लागि एमालेले कृषि, पर्यटन, उर्जा र उद्योगको विकाशलाई प्राथमिकतमा राखेर काम गरिरहेको जानकारी दिए ।