चिनियाँ सुझाव: उत्तर-दक्षिण प्रदेश

142
  •  
  •  
  •  

काठमाडौं २ पुस ।
चीनले नयाँ संविधानमा राष्ट्रिय अखण्डता कायम राख्न उत्तर-दक्षिण जोडिएका थोरै प्रदेश बनाउनु उपयुक्त हुने सुझाव दिएको छ। जाति, भाषा, धार्मिक सहिष्णुता र सद्भाव नबिग्रने गरी संघीय संरचनासहितको संविधान निर्माण गरेर राजनीतिक स्थिरता कायम गर्न चीनले प्रमुख दलका नेतालाई सुझाव दिएको हो।  चिनिया कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्वी एसिया हेर्ने उपमन्त्री छन फङ सियाङले प्रमुख दलका नेतालाई सांकेतिक रूपमा यस्तो सुझाव दिएका हुन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमण गराउनुअघि ‘राजनीतिक वस्तुस्थितिमा पुनर्ताजगी’ हुन नेपाल आएका हुन्।

‘तपाईंहरूले नेपालमा जस्तोसुकै संरचना बनाए पनि राष्ट्रिय अखण्डता, समृद्धि र जातजाति र भाषाभाषीबीचको एकता महत्त्वपूर्ण हो’, छनलाई उद्‌धृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने।

चीनले धर्म परिवर्तन र जातीय पहिचानको प्रदेश बनाउँदा नेपालको राष्ट्रिय अखण्डता र राजनीतिक स्थिरता धुमिल हुन सक्नेतर्फ नेताहरूलाई यसअघि पनि सचेत गराएको थियो।

स्रोतका अनुसार चीन सकेसम्म नेपालमा उत्तर र दक्षिण जोड्ने कोसी, गण्डकी र कर्णाली तीन प्रदेशमात्र बनून् भन्ने चाहान्छ। आई पिङले आठ महिनाअघि अवकाश लिएपछि उनको उत्तराधिकारीका रूपमा पहिलोपटक काठमाडौं आइपुगेलगत्तै छनले सोमबार एमाले अध्यक्ष केपी ओलीसहितका नेतासँग भेटवार्ता गरेका थिए।

छन नेतृत्वमा आएको नौ सदस्यीय चिनियाँ टोलीले मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेको थियो।

छनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमाले नेतासँग अन्नपूर्ण होटेलमा भेटवार्ता गरेका थिए। उनले अन्य नेतासँग भने उनीहरूकै निवासमा पुगेर भेट गरेका थिए।

चीनको राष्ट्रिय सुरक्षाका लागि नेपालको समृद्धि आवश्यक रहेको भन्दै छनले राजनीतिक संक्रमण छिटो अन्त्य गरी स्थायित्व कायम गर्न पनि नेताहरूलाई सुझाव दिएका छन्। एमाओवादी अध्यक्ष दाहालसँगको भेटपछि छनले पत्रकारसँग भने, ‘नेपालमा चाँडै संविधान बनोस् र नेपाल आर्थिक विकासको गतिमा अगाडि बढोस्।’

भेटवार्ताामा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराका अनुसार छनले ‘संविधान बन्छ कि बन्दैन, संविधान कहिले बन्छ, सहमति कहिले बन्छ’ जस्ता जिज्ञासा राखेका थिए। ‘स्थिर, शान्त र समृद्व नेपाल हाम्रो पनि आवश्यकता हो। त्यसका लागि कस्तो संविधान बनाउने तपाईंहरूको आफ्नो काम हो’, छनलाई उद्धृत गर्दै एमाले सचिव ज्ञवालीले भने।

महराका अनुसार छनले राष्ट्रपति सीले अगाडि सारेको आर्थिक नीतिबारे जोड दिएर व्याख्या गरेका थिए। उनले राजनीतिक स्थिरता कायम हुनेबित्तिकै चीन नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी पनि गराएका थिए।

नेपाल-चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आफूहरू व्यग्रतापूर्वक प्रतीक्षा गरिहेको सन्देश पनि नेताहरूले छनमार्फत पठाएका छन्। वैद्यसँगको भेटमा भने छनले संविधान निर्माणबारे खासै चासो नराखेको स्रोतले बतायो।

नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीका तर्फबाट नेपालमा अग्रगामी राजनीतिक निकासका लागि अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभा आवश्यक भएको छनलाई अवगत गराइएको बताइन्।

छन् नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले बुधबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •