आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव

113
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक ।
चीनले अनुदानमा उपलब्ध गराएको हजार टन (१३ लाख लिटर) पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ । अनुदानको पेट्रोल प्रयोगपछि सर्वसाधारणको प्रतिक्रिया बुझेर निर्णय लिन उसले नेपाली टोलीलाई सुझाएको छ । सिगात्सेबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास खरिद गरेर लैजान चीनले प्रस्ताव गरेको हो । नेपालले पेट्रोल ल्याइरहेको सरकार स्वामित्वको चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को सिगात्सेमा ५० लाख लिटर क्षमताको डिपो छ । सोही डिपोबाट इन्धन उपलब्ध गराउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाली टोलीलाई गराएको थियो ।

केही दिनअघि बेइजिङमा इन्धन आयातबारे समझदारी भएका वेला नेपाली सरकारी टोलीसँग चिनियाँ पक्षले अनुदानको तेल पठाइसकेपछि खरिद गरेर लैजान सुझाएको टोलीका एक सदस्यले जानकारी दिए । ‘अनुदानमा दिने हजार टन पेट्रोल सकिएपछि तपाईं–हाम्रो व्यापारिक सम्बन्ध त्यत्तिकै रोकिनुहुन्न,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘अनुदानको तेल सकिएसँगै आवश्यक मात्रामा खरिद गरेर लैजान सक्नुहुन्छ ।’ सिएनपिसी र नेपाली टोलीबीच नेपालले तेल खरिद गर्ने र चीनले तेल बेच्न सक्ने गरी समझदारीमा भएको छ । ‘सिएनपिसी र आयल निगमबीच तेल खरिद गर्ने र चीनले बेच्ने भन्ने कुरालाई सम्बोधन गरिएको छ,’ ती अधिकारीले भने, ‘बेइजिङमा भएको समझदारीले नेपाललाई चीनबाट व्यापारिक रूपमै तेल किन्ने बाटो खुलाइदिएको छ ।

नेपालले चाहेमा अनुदानको तेल सकिएको भोलिपल्टै चीनबाट व्यापारिक हिसाबले नै पेट्रोल, डिजेल, ग्यास ल्याउन सक्छ ।’ चीनले अनुदानको तेल प्रयोग गरेपछि सर्वसाधारणको के–कस्तो प्रतिक्रिया आउँछ, त्यसैकै आधारमा तेल खरिद गरेर लैजान सुझाब दिएको छ । ‘अहिले अनुदानको तेल लगेर प्रयोग गरी हेर्नुस्,’ नेपाली टोलीका एक अधिकारीले भने, ‘यो तेल जाँदै गर्दा उपभोक्ताको प्रतिक्रिया लिइहाल्नुस् । त्यसपछि निरन्तरता दिन खरिद गरेर लगे हुन्छ भन्ने चिनियाँ टोलीको प्रतिक्रिया पायौँ ।’ तत्कालका लागि भने एकतिहाइ इन्धन चीनबाट नेपालले ल्याउने समझदारी भएको उनले बताए ।

‘चीनले त तपाईंहरू तेल लैजानुस्, हामी दिन्छौँ भनेर कुरा सुरु गरेको थियो । उसले यति–उति दिन्छौँ भनेर परिमाण तोकेकै थिएन,’ स्रोतले भन्यो, ‘हामीले नै एकतिहाइ चाहिएको छ भनेपछि उसले पनि एकतिहाइ दिन्छौँ भनेर हस्ताक्षर गरेको हो ।’ चीनबाट मागअनुसार सबै तेल ल्याउन सकिने ती अधिकारीले बताए । ‘चीनबाट मुलुकमा खपत हुने डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास सबै ल्याउन सकिने देखिएको छ,’ ती अधिकारीले भने । चीनबाट युरो–४ मापदण्डकै पेट्रोल, डिजेल ल्याउने सहमति भएको स्रोतको भनाइ छ ।

युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुँवा कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउँछ । सवारीसाधनको आयुसमेत बढ्छ । भारतबाट भने युरो–३ मापदण्डको पेट्रोलियम आयात भइरहेको छ । चीनबाट व्यापारिक हिसाबले इन्धन ल्याउनेबारे बेइजिङ पुगेको टोलीले विस्तृत अध्ययन गरेको छैन । मूल्य कति पर्ने, कति युनिट आउने, तातोपानी वा केरुङ कुन नाका प्रयोग गर्ने भन्नेबारे अध्ययन हुन बाकी छ ।

सिगात्सेबाट तेल लैजान बाटोको समस्या हुन नदिने पनि चीनले प्रतिबद्धता व्यक्त गरेको छ । चीनतर्फको बाटो बाह्रै महिना सुचारु गरिदिने चिनियाँ पक्षको भनाइ छ । सिगात्सेबाट केरुङ एक दिनमै पुग्न सकिन्छ । ‘तेल लैजान बाह्रै महिना बाटो सुचारु हुन्छ । जाडोमा हिमपातका कारण कहिलेकाहीँ तीन–चार घन्टा अलमल हुन सक्छ भन्ने कुरा चिनियाँ पक्षले जानकारी गराएको छ,’ स्रोतले भन्यो ।

चीनले तत्कालै तातोपानी–खासा नाकाबाट तेल दिन नसक्ने संकेत गरेको छ । भूकम्पका कारण खासामा बाटो बिग्रिएकाले ट्यांकर चल्न नसक्ने चीनको भनाइ छ । तर, उनीहरूले खासाको बाटो जतिसक्दो चाँडो सुचारु गरिने जनाएका छन् । खासा–तातोपानी सडक सुचारु गर्न दुवै देशका सरकार क्रियाशील छन् ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •