चिनियाँ राष्ट्रपति नेपाल ‘आउने’

315
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।
समयमा संविधान जारी भएर राजनीतिक अवस्था सुधार भएमा केही महिना पछि चिनियाँ राष्ट्रपति सि जिङ पिङले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपतिको भ्रमण तय गर्न उनका विदेशमन्त्री वाङ यी पुस दोस्रो साता काठमाडौ आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूत उ छुन्थायी बेइजिङ पुगेर फर्के लगत्तै परराष्ट्रका कामु सचिव शंकरदास बैरागीलाई भेटेर यस्तो जानकारी गराएका हुन् ।

नेपाल-चीन दुईपक्षीय सम्वन्ध, तिब्बती शरणार्थीको विषयलाई लिएर पश्चिमाको चलखेल लगायत विषयमा समेत बैरागीसंग विहिबार राजदूत पिङले छलफल गरेको परराष्ट्रका एक अधिकारीले बताए । नेपाल चीन कूटनीतिक सम्वन्ध स्थापना भएको ६० औं बर्षगाँठलाई कसरी विशेष बनाउने भन्नेमा पनि छलफल भएको उनले जनाए ।

वाङले यहाँको राजनीतिक अवस्थाबारे जानकारी लिनेछन । उनको बुझाईको आधारमा नै सि जिङपिङको भ्रमण हुने/नहुने तय हुनेछ । उनले यहाँ रहदा राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्ती सुशील कोइराला, दलका शिर्ष नेताहरु तथा मन्त्रीहरुासंग छुट्टाछुट्टै भेट्ने छन् ।

तीन दिने बसाईमा उनी सम्भव भएसम्म पोखरा समेत जानेछन् । चीनले पोखरा र गोन्जाओलाई सिष्टर सिटीका रुपमा विस्तार र विकास गर्न चाहेको छ । चीनले पोखरामा बाणिज्य दूतावास खोजेको छ भने नेपालले गोन्जाओमा स्थापना गर्ने तय भएको बाणिज्य दूतावासको स्विकृत चीनबाट अझैसम्म पनि टुंगोमा पुग्न सकेको छैन् ।

सुशील कोइराला प्रधानमन्त्री भएपछि उत्तरी छिमेकबाट हुनलागेको उच्चस्तरको भ्रमणलाई सरकारले महत्व दिएको छ । ‘आउने भन्ने सुनेको छु, तर कहिले के कसरी भन्नेबारे गृहकार्य भइरहेको होला’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कान्तिपुरसंग भने, ‘नेपालमा अब हुने उच्चस्तरका धेरै भ्रमणहरु पाइपलाइनमा छन् ।’

समयमै संविधान जारी गर्न सके विश्वको ध्यान नेपाल केन्दि्रत हुने पनि उनले बताए । ‘भर्खरै सार्कको १८ औं शिखर सम्मेलन सकियो, यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको दुइपक्षीय भ्रमणले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था सुधारोन्मुख तर्फ गएको संकेत हो । यस बीचमा पनि धेरै उच्चस्तरका अन्य भ्रमण भएका छन्’, उनले भने, ‘चीनबाट पनि महानिर्देशक स्तरका धेरै अधिकारी नेपाल आएर छलफल गरेर फर्केका छन । प्रधानमन्त्रीले पनि यसबीचमा दिल्ली, सांघाई, म्यानमार, न्यूयोर्क, र ब्रसेल्समा उच्चस्तरको भेटघाट गरिसकेका छन् ।’
कान्तिपुरबाट


  •  
  •  
  •