चीनबाट एकतिहाइ इन्धन ल्याउने पक्का

93
  •  
  •  
  •  

काठमाडौं २ मंसिर ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको पहलमा मुलुकको कुल खपतको करिब एकतिहाइ इन्धन चीनबाट दीर्घकालसम्म आउने पक्का भएको छ । स्रोतका अनुसार मन्त्री पुनले सोमबार चिनियाँ अधिकारीसँग भेटेर दीर्घकालसम्म एकतिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पुन प्रधानमन्त्री ओलीको पत्र बोकेर चीन गएका थिए ।

नेपाललाई तेल बेच्न तयार चीनले नेपाल सरकारबाट दीर्घकालसम्म तेल किन्ने प्रतिबद्धता खोजेको थियो । मन्त्री पुन चीन पुगेर दीर्घकालसम्म एक तिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता जनाएपछि चिनियाँ सरकारले सोमबार नै आयल निगमलाई इमेलमार्फत इन्धन खरिद सम्झौता गर्न बेइजिङ बोलाएको छ ।

चीनले हप्ता दिनभित्रै नेपाललाई इन्धन निर्यात गर्ने प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ । चीनको सरकारी कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)ले सोमबार साँझ सम्झौता गर्न बेइजिङ आउनू भनी पत्राचार गरेको आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । इन्धन सम्झौता गर्न आयल निगमको टोली दुई–तीन दिनभित्रै बेइजिङ जाने तय भएको छ । स्रोतका अनुसार मन्त्रालयमा अन्तरिक छलफल गरी मन्त्री पुन चीन गएका हुन् ।

‘चीनले अनुदानमा दिएको इन्धन सकिन लागेको छ र भारतबाट तत्कालै इन्धन आपूर्ति सहज हुने स्थिति छैन,’ स्रोतले भन्यो, ‘चीनबाट अनुदानमै थप तेल ल्याउने वा खरिद सम्झौता गर्ने उद्देश्यसहित मन्त्री चीन जानुभएको हो । उहाँले सोमबार दिनभर चिनियाँ अधिकारीलाई भेटी इन्धन ल्याउने वातावरण सिर्जना गराउनुभयो ।’ मन्त्री पुनले चिनियाँ पक्षसँग भएको कुराकानीबारे वाणिज्यका सीमित अधिकारीलाई टेलिफोनबाट जानकारी गराएका थिए ।

उनी मंगलबार राति नेपाल फर्कंदैछन् । मन्त्रीनिकट स्रोतका अनुसार मंगलबार उनले पत्रकार सम्मेलन गरी चीनबाट एकतिहाइ इन्धन ल्याउन आफूले गरेको पहलकदमीबारे जानकारी दिनेछन् । बाहिर हल्ला गर्दा कुरा बिग्रने डरले उनी सुटुक्क चीन गएको स्रोतको दाबी छ । सुटुक्क गएकै कारण चीनबाट दीर्घकालसम्म इन्धन आयातका लागि व्याापरिक सम्झौताको वातावरण बनेको उनको तर्क छ । चिनियाँ अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम मिलाएरै मन्त्री पुन चीन गएको स्रोतको दाबी छ । सम्झौतापछि वार्षिक करिब ५ लाख किलोलिटर इन्धन चीनबाट आपूर्ति हुनेछ । मुलुकमा वार्षिक करिब १५ लाख किलोलिटर पेट्रोलियम खपत हुने गरेको छ । हाल नेपालमा भारतबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात भइरहेको छ ।

हालसम्म भारतीय आयल कर्पोरेसन (आइओसी)सँग नेपालमा इन्धन बिक्रीको एकाधिकार थियो । सम्झौतापछि इन्धन आपूर्तिमा भारतको एकाधिकार तोडिनेछ भने ऊसँगको व्यापार घाटा पनि कम हुनेछ । चीनबाट इन्धन आयात सुरु भएपछि चीनसँगको व्यापारघाटा भने बढ्नेछ । निगमले सिएनपिसीको बजार प्रबन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहायक कम्पनी चाइना पेट्रोबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास आयात गर्ने बताएको छ । मट्टीतेल भने चीनबाट आयात हुने छैन ।

यसअघि आयल निगमले नै चिनियाँ पक्षलाई खरिद सम्झौताका लागि नेपाल आउन पत्राचार गरेको थियो । त्यतिखेर निगमले नोभेम्बर १६ देखि १९ तारिखभित्र नेपाल आउन आग्रह गरेको थियो । तर, १६ तारिख (सोमबार) बिहान सिएनपिसीले इमेल गर्दै खरिद सम्झौताका लागि आवश्यक तयारी गर्न थप केही दिन लाग्ने जानकारी गराएको थियो । तर, सोमबार साँझ नै पुन:इमेल गर्दै आफ्नोतर्फबाट सबै प्रक्रिया टुंग्याएको जानकारी दिँदै उसले चाँडै सम्झौताका लागि बेइजिङ आउन पत्राचार गरेको थियो ।

चीनको पत्राचारले कुल खपतको ३३ प्रतिशत इन्धन ल्याउने सुनिश्चित भएको भट्टराईले बताए । ‘चीनबाट नेपालमा कुल खपतका एक तिहाइ इन्धन खरिद गरी ल्याउने विषयमा समझदारी भइसकेको छ,’ उनले भने, ‘सोही समझदारीअनुसार तेल ल्याउने सम्झौता हुने हो ।’ सम्झौताका लागि सरकारी प्रतिनिधिको नेतृत्वमा निगम टोली बेइजिङ जानेछ । यसअघि ११ कात्तिकमा सिएनपिसी र निगमबीच इन्धन आयात–निर्यात गर्नेबारे समझदारी भइसके पनि कति मूल्यमा इन्धन खरिद गर्ने भन्ने विषय टुंग्याउन बाँकी रहेको छ । ‘चीनले कति मूल्यमा इन्धन दिने र केकस्ता सहुलियत दिने भन्ने कुरा बेइजिङ पुगेरै थाहा हुनेछ,’ उनले भने । नेपाली पक्षले भने ढुवानी लागतमा अनुदानको अपेक्षा गरेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •