‘चीनविरोधी गतिविधि’ रोक्‍न दबाब

95
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक ।  चीनले एक वर्षभित्र ‘चीनविरोधी गतिविधि’ पूर्ण रूपमा अन्त्य गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। तिब्बती शरणार्थीलाई ‘चीनविरोधी तत्त्व’ भन्दै चीनले उनीहरूलाई पक्राउ गरी सुपुर्दगी गर्न पनि दबाब दिएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको ६ सदस्यीय टोलीले नेपालका उच्च नेताहरूलाई भेटी यस्तो दबाब दिएको हो।
टोलीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ।
सबैजसो भेटमा टोलीले चीनविरोधी गतिविधि सञ्चालन गर्नेलाई नियन्त्रण गरी दुई देशबीच हार्दिकता बढाउन आग्रह गरेको स्रोतले बतायो। ‘तिब्बत सरकारको टोलीको मुख्य मिसन चीनविरोधी गतिविधि नियन्त्रण गर्नु हो’, स्रोतले भन्यो।
स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिन पिङले एक वर्षभित्र नेपाल भ्रमण गर्ने सम्भावनालाई ध्यानमा राखेर चीनले यस्तो आग्रह गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षमा दुईपटक नेपाल भ्रमण गर्ने अवस्था आएपछि चीनमाथि आफ्ना राष्ट्र प्रमुखलाई भ्रमण गराउने दबाब बढेको छ। मोदीले गत साउनमा नेपाल भ्रमण गरेका थिए भने मंसिरमा हुने सार्क सम्मेलनमा पनि उनी काठमाडौं आउँदैछन्।
 
नेपाल चीनको प्राथमिकतामा परे पनि यो स्तरको भ्रमण नभएको १७ वर्ष भइसकेको छ। तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिनले १७ वर्षअघि नेपाल भ्रमण गरेका थिए। राष्ट्रपति सीभन्दा पहिलेका राष्ट्रपति हु जिन्ताओ १० वर्षे कार्यकालमा एकपटक पनि नेपाल आएनन्।
चिनियाँ राष्ट्रपतिले केही महिनाअघि माल्दिभ्स, श्रीलंका र भारत भ्रमण गरे पनि नेपाल आएनन् । उनले अब एक वर्षभित्र नेपाल भ्रमण गर्ने बेइजिङस्थित नेपाली दूतावास स्रोतले बतायो।
तिब्बती शरणार्थीले ‘चीनविरोधी गतिविधि’ गर्नसक्ने भन्दै दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले एक दिनमात्र नेपाल भ्रमण गरेका थिए। भारत र चीन दुवैले छिमेकी नेपाललाई उच्च प्राथमिकतामा राखेका छन्।
तिब्बती शरणार्थीलाई पश्चिमी राष्ट्रहरूले चीनविरोधी गतिविधिमा प्रयोग गर्ने गरेको आरोप चिनियाँ अधिकारीले लगाउने गरेका छन्। चीनमा अपराध गरेर नेपालमा शरण लिन आउनेलाई शरणार्थीको मान्यता नदिन पनि चिनियाँ अधिकारीले आग्रह गर्दै आएका छन्। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •