किन भेटेनन् वाङले नेताहरु ?

164
  •  
  •  
  •  

काठमाडौं १३ पुस ।

काठमाडौं : राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे। उच्च स्रोतका अनुसार संविधान निर्माणमा क्रियाशील नेताहरूलाई छुट्टाछुट्टै भेट्दा नकारात्मक सन्देश प्रवाह हुनसक्नेमा सचेत हुँदै विदेशमन्त्री वाङलेनेताहरूलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्। तीनदिने नेपाल भ्रमणमा आएका वाङ शनिबार ढाका प्रस्थान गरे।

‘सबै नेतालाई सामूहिक रूपमा चीनको विदेश नीति प्रस्ट्याएपछि नेपालको संवेदनशील राजनीतिक अवस्थामा नेताहरूलाई छुट्टाछुट्टै भेट्दा सम्भावित राजनीतिक परिणामको दोष आफूले बोक्न नचाहेको हुनसक्छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने।

थोरै प्रदेशसहितको संघीयता र धार्मिक सहिष्णुताका पक्षमा मत जाहेर गर्दै आएको चीनका विदेशमन्त्री वाङले दूतावासले शुक्रबार आयोजना गरेको रात्रिभोजमा सबै दलका नेताहरूलाई सामूहिक रूपमा सम्बोधन गर्दै संविधानका लागि सहमतिका आधार खोज्न सुझाव दिएका थिए।

नेपाललाई शान्त, स्थिर र एकताबद्ध बनाउने संविधान निर्माण गर्न सुझाव दिएका विदेशमन्त्री वाङ यीले रात्रिभोजकै क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता झलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेका थिए।

चिनियाँ दूतावासले एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष दाहाल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र मधेस केन्द्रित केही दलका नेताहरूसँग पनि वाङले छुट्टै भेटवार्ता गर्ने कार्यक्रम बनाएको थियो। ती नेताहरूलाई विदेशमन्त्री वाङसँग भेटवार्ताका लागि तयार रहन टेलिफोनबाट दूतावासले खबरसमेत गरेको थियो।

विदेशमन्त्री वाङ शनिबार दिउँसो सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख रिट्रिटमा गएको धुलिखेलको द्वारिकाज रिसोर्ट पुगेका थिए। उनी बिहीबार काठमाडौं आएलगत्तै नगरकोट पुगेर क्लब हिमालयनदेखि भ्युटावरसम्म हिँडेरै पुगेका थिए। यसअघि पहिलो संविधानसभा विघटन हुँदा चिनियाँ राजदुत याङ होउलान करिब दुई साता बेइजिङ गएर बसेका थिए।

छिमेकी मुलुकलाई प्राथमिकताको सूचीमा राखेका चीनका राष्ट्रपति सी जिनपिङले नयाँ वर्षमा नेपाल भ्रमण गर्ने तयारीस्वरूप विदेशमन्त्री वाङको भ्रमणलाई विश्लेषकहरूले अथ्र्याएका छन्।

परराष्ट्र उच्च स्रोतका अनुसार राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निमन्त्रणा गर्नुको अर्थ चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने तयारीको रूपमा बुझ्न सकिन्छ। ‘हाम्रो चाहना चीनबाट उच्चस्तरीय भ्रमण होस् भन्ने छ।

कूटनीतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुगेको अवसरलाई विशेष बनाउने भनिएको छ। यसको अर्थ उच्चस्तरीय भ्रमणको सम्भावना बलियो छ’, परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीले भने।

विदेशमन्त्री वाङकोभ्रमणपछि राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउन गृहकार्य सुरु हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। ती अधिकारीले भने, ‘उच्चस्तरमा दुईपक्षीय भ्रमण हुन्छ। चीनका राष्ट्रपतिको भ्रमणबारे चिनियाँ पक्षबाट आधिकारिक जानकारी नगराई हामीले भन्न मिल्दैन।’

विदेशमन्त्री वाङले आगामी मार्चमा हुने बोआओ फोरममा सहभागी हुन राष्ट्रपति यादवलाई निमन्त्रणा गरेका छन् भने प्रधानमन्त्री कोइरालालाई पनि चीन भ्रमण गर्न निमन्त्रणा दिएका छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •