इन्धन सम्झौताका लागि चीनले बोलायो आयल निगमलाई

210
  •  
  •  
  •  

काठमाडौँ, १ मंसिर(ओएनएस) : चीन सरकारको स्वामित्वमा रहेको पेट्रो चाइनालेले नेपाल आयल निगमलाई इन्धन खरिदका लागि व्यापारिक सम्झौता गर्न सोमबार साँझ पत्राचार गरेको छ ।

सोमबार बिहान आन्तरिक तयारीका लागि थप केही समय माग गरेको पेट्रो चाइनाले साँझ ७ बजे इमेलमार्फत पत्राचार गरी चाँडोभन्दा चाँडो सम्झौताका लागि आउन निगमलाई पत्राचार गरेको हो । यसअघि उक्त कम्पनीले व्यावसायिक रूपमा इन्धन दिने समझदारी गरिसकेको छ ।

निगमले इन्धन खरिद सम्झौताका लागि पेट्रो चाइनालाई नोभेम्बर १६ देखि १९ तारिखभित्रमा नेपाल आउन पत्राचार गरेको थियो। तर पेट्रो चाइनाले सम्झौताका लागि नेपाली पक्षलाई चीनमै आएन आग्रह गरेको छ।

भारतले गत असोज ६ गतेदेखि अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण आवश्‍यक परिमाणमा इन्धन आपूर्ति हुन नसक्‍दा नेपाली जनजीवन कष्टकर बन्दै गएपछि वयिकल्‍पका रुपमा सरकारले चीनबाट औपचारिक रुपमा इन्धन ल्‍याउने पक्रिया अघि बढाइएको हो ।

निगमका कार्यवाहक नायव प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार चीनले पत्र पठाएर आधिकारिक रुपमा सम्झौता गर्न बोलाएपछि निगमले दुई दिनभित्रमा वाणिज्‍य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर आगामी पाँच दिनभित्रमा बेइजिङ गएर सम्‍झौता गर्ने आन्तरिक तयारी गरेको छ । सम्झौतापछि इन्धन आपूर्तिको माग नै गरेर आउने भट्टराईले बताए ।

चीनबाट इन्धन आयातसँगै भारतीय आयल निगमको नेपालप्रतिको ४० वर्षे एकाधिकार तोडिने छ । हालसम्म निगमले भारतबाट मात्रै इन्धन आयात गरिरहेको थियो । २०३१ सालमा सम्झौता गरी इन्धन ल्याउन थालिएको हो । सम्झौता हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने र नेपालले चाहे अन्य मुलुक वा कम्पनीबाट पनि इन्धन ल्याउन सक्ने प्रावधान छ ।


  •  
  •  
  •