विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्ड

94
  •  
  •  
  •  

एजेन्सी । चीनमा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको आरोप लागेकी एक शिक्षिकालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार चीनको ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो।

अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ। ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ।

अदालतले वाङलाई ‘अनैतिक र दुष्ट’ भनेको छ। गत वर्ष मार्च महिनामा भएको उक्त घटना भएको हो । खाना खाएपछि २३ बालबालिकालाई बान्ता भएको र उनीहरू अचेत भएका थिए ।

ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको बीबीसीले उल्लेख गरेको छ ।

सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।
विद्यार्थी व्यवस्थापनसम्बन्धी विषयमा आफ्नी सहकर्मीसँग विवाद भएपछि ती शिक्षिकाले ‘अर्की शिक्षिकाका विद्यार्थीको खानामा नाईट्राईट हालिदिएका’ ठहर भएको उक्त पत्रिकाले जनाएको छ।

सोडीअम नाईट्राईट प्रायः मासु प्रशोधन गर्न प्रयोग गरिन्छ। तर ठूलो मात्रामा प्रयोग गर्दा उक्त रसायन विषाक्त हुन्छ।

अदालतका अनुसार वाङले त्यसअघि पहिला पनि मानिसलाई विष दिएको बताएको छ। उसका अनुसार अनलाइन माध्यमबाट नाईट्राईट किनेर उनले आफ्नै पतिलाई हालिदिएकी थिइन्। उनी सामान्य घाइते मात्र भएका थिए।

विद्यालयमा भएको घटनामा मृत्यु भएका शिशुबारे थप जानकारी प्राप्त भएको छैन।

ग्लोबल टाईम्सका अनुसार अदालतले ‘वाङ अनैतिक र दुष्ट भएको र उनले गरेका अपराधका परिणामहरू अत्यन्तै गम्भीर भएका तथा उनी गम्भीर दण्डका लागि योग्य’ भएको सुनाएको थियो। चीनमा विषालु सुई दिएर वा गोली हानेर मृत्युदण्ड दिइन गरिन्छ ।


  •  
  •  
  •