यो वर्षको अन्त्यसम्ममा चीनले कोरोना भाइरसविरुद्धको खोप तयार गर्ने

123
  •  
  •  
  •  

एजेन्सी । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप तयार हुने चीन सरकारले दावी गरेको छ ।

सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन चीनले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ढिलोमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने चीन सरकारले दावी गरेको छ ।

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको खबरमा उल्लेख छ । वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले खोप बनाइरहेका छन् ।

दुई हजारभन्दा बढी मानिसलाई खोप दिएको र अहिले यो खोप दोश्रो चरणको परिक्षणमा रहेको खबरमा उल्लेख छ । एसएएसएसीले प्रतिवर्ष एक सय मिलियनदेखि एक सय २० मिलियन डोज खोप उत्पादन गर्न सक्ने दावी पनि गरेको छ ।

खोप र औषधी पत्ता लागिनसकेकोले अहिले धेरै देश कोरोनाको सङ्क्रमण रोक्न लकडाउनलाई नै विकल्प ठानिरहेका छन् । विश्व स्वास्थ्य संगठनले समेत लकडाउन नै अहिलेको बिकल्प रहेको बताएको भएपनि लकडाउनका कारण अरु समस्याहरु शुरु भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।


  •  
  •  
  •