०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल

108
  •  
  •  
  •  

०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो । त्यतिवेला रुस, सिंगापुर, इराक, कुवेतलगायत देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन ल्याई भारतको कोलकाताछेउमा रहेको बजबज बन्दरगाहमा झारिएको थियो । त्यतिवेला रुसको जेसु नेप्थे, कुवेतको केपिसी कम्पनीबाट तेल ल्याइन्थ्यो । तेस्रो मुलुकबाट ३० मेट्रिक टन क्षमताका साना कार्गो जहाजमा तेल ल्याइरहेको थियो ।

जहाजमा ल्याएको तेल भारतीय व्यवसायीका भर्टिकल ट्यांकरमा खसालेर पुन: भारतीय व्यवासायीकै ट्यांकरबाट एक हजार एक सय किलोमिटरको दूरीमा रहेको काठमाडौंसम्म तेल ढुवानी गरिएको थियो । त्यतिखेर भारतीय व्यवसायीले चर्को भाडा दरमा ट्यांकर उपलब्ध गराएका थिए । वीरगन्ज, भैरहवा, सिलगुढीलगायतका पाँच नाका खुला थिए । तिनै नाका हुँदै भारतीय ट्यांकरको सहायताले तेल ल्याइएको थियो । त्यस्तै, चीनको ल्हासाबाट खासा हुँदै पनि तेल ल्याइएको थियो ।

त्यतिखेर ल्हासाबाट काठमाडौंमा तेल ल्याउन १५ दिन लाग्थ्यो । हवाई इन्धन भने बंगलादेशबाट नेपाल एयरलाइन्सको जहाजबाट ढुवानी गरिएको थियो । नेपाल एयरलाइन्सको पखेटामा ड्रम राखेर हवाई इन्धन ल्याइएको थियो । बंगलादेशबाट डिजेलसमेत ल्याइएको थियो । विमानस्थल र विमान कम्पनीलाई नियमन गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ)ले जहाजमा इन्धन ढुवानी गर्न नपाउने नियम बनाएको थियो । तर, नेपालमा हवाई इन्धनको अभावले उडान नै प्रभावित हुन थालेपछि ‘साह्रै अप्ठ्यारो परेको वेला’ भन्दै तेल ल्याइएको थियो । यसरी ल्याएको तेल आन्तरिक उडान भर्ने निजी विमान कम्पनी र नेपाल एयरलाइन्सले प्रयोग गर्थे भने बंगलादेशसम्म जाने विमान कम्पनीले पनि अभाव भएको वेला प्रयोग गर्थे ।

नेपालमा हवाई इन्धनको अभाव भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई एक हप्तादेखि नै इन्धन दिन नसक्ने जानकारी गराएकाले उनीहरू आफैँले इन्धन बोकेर आउँथे । कतिपयले भारतमा तेल भरेर पनि आउँथे । तर, चाहिनेभन्दा बढी तेल बोकेर आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनीले यात्रु र मालसामन पनि कम बोक्नुपरेको थियो ।

०७२ को नाकाबन्दीमा चीनबाट यसरी आइपुग्यो तेल

३ असोजमा नेपालमा नयाँ संविधान प्रारम्भ भएको घोषणा भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गरेर पेट्रोलियमका ट्यांकर र खाना पकाउने एलपी ग्यासका बुलेटलगायत सबै मालबाहक ट्रक–कन्टेनर रोक्यो । दैनिक उपभोग्य वस्तुको मौज्दात भएकाले तत्काल अभाव नदेखिए पनि आयल निगमसँग धेरै दिन थेग्ने पेट्रोलियम मौज्दात थिएन । ८ असोजसम्म निगमका देशभर रहेका डिपोमा १९ हजार किलोलिटर मात्रै इन्धन थियो । यतिले मुस्किलले १५ दिन धान्न सकिन्थ्यो । भारतबाट तेल आउन बन्द भएपछि निगमले तेल वितरण परिमाणमा कटौती गर्‍यो । मौज्दात भएको तेल सकिन लागेपछि सरकारले वैकल्पिक उपायबारे सोच्न थालेको हो । सुरुमा बंगलादेशबाट इन्धन ल्याउने सोच राखे पनि सरकारले औपचारिक रूपमा चीनबाट तेल ल्याउनेबारे छलफल थालेको थियो । –


  •  
  •  
  •