तिब्बत सरकार प्रमुख नेपालमा

266
  •  
  •  
  •  

काठमाडौं, ११ कात्तिक चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख लियो साङ जियाङ जुन नेपाल भ्रमणमा आएपछि तिब्बती शरणार्थी शिविरमा सुरक्षा निगरानी बढाएको छ । भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामा समर्थित शरणार्थीले प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी बढाएकोे हो । तिब्बतको सरकार प्रमुख लियो साङ जियाङ जुन पाँच मन्त्रीसहित १२ उच्च अधिकारीका साथ सोमबार नेपाल आइपुगेका छन् ।

नेपालमा १८ वटा शरणार्थी शिविरमा १३ हजार ६ सय ८५ जना तिब्बती शरणार्थी बसिरहेका छन् । काठमाडौं जोरपाटी क्याम्पमा १ सय ६२, जोरपाटी गुम्बामा ६ सय ५, बौद्धमा ४ हजार ८ सय ४६, स्वयम्भूमा १ हजार ८ सय ७६, फर्पिङमा ७ सय ९९ र ललितपुर जावलाखेलमा ९ सय ८४ शरणार्थी बस्छन् । सोलुखम्बुमा ७ सय २८, पोखराका चार गुम्बामा १ हजार ८ सय ४९, तनहुँ दुलेगौडा ५ सय ८८, रसुवामा २ सय १, स्याङजा १ सय ८३, मनाङका दुई शिविरमा ३ सय २८, मुस्ताङमा २ सय ५० जना शरणार्थी बस्दै आएका छन् । देशभर रहेका १ हजार ४ बौद्ध गुम्बामध्ये चीन र तिब्बत सीमा जोडिएका अधिकांश गुम्बामा लुकेर बस्ने बस्ने तिब्बतीको संख्या अधिक रहेको छ ।

शरणार्थी बस्दै आएका स्थानमा प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानी बढाएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) माधव जोशील्े बताए । प्रवक्ता डिआइजी जोशीका अनुसार तिब्बती र शरणार्थीको बसोबास भएको क्षेत्रमा उनीहरुले चीनविरुद्ध प्रदर्शन गर्न नपाउन् भनेर सुरक्षा व्यवस्था कडा बनाएको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम कार्कीका अनुसार चार दिने नेपाल भ्रमणमा रहेका तिब्बती सरकार प्रमुख सुन रहँदासम्म शरणार्थी शिविरमा कुनै अप्रिय घटना हुन नदिन सावधानी अपनाएको छ । ललितपुर प्रहरीले पनि आफ्नो क्षेत्रका शरणार्थी शिविरमा सुरक्षा सतर्कता अपनाएको छ ।

तिब्बत सरकार प्रमुख सुन लुम्बिनी र पोखरा पनि जाने कार्यक्रम छ । ती क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा बनाउन प्रधान कार्यालयले निर्देशन दिएको जनाएको छ ।  स्वतन्त्र तिब्बतको माग गर्दै आएका धर्म गुरु लामाका समर्थकले सन् २००९ देखि तिब्बतीहरूले प्रदर्शन र आत्मदाह अभियान चलाइरहेका छन् । हालसम्म ९९ जनाले आत्मदाह प्रयास गरेकामा ८३ जनाको मृत्यु भइसकेको छ ।

हिमालय टाइम्सबाट


  •  
  •  
  •