यसरी बनाउनुस् बच्चालाई अनुशासित

629
  •  
  •  
  •  

हरेक बच्चाको पहिलो गुरु आमा हो । बच्चाले अनुशासनको पहिलो पाठ आमाबाट सिक्ने गर्छ । दुई वर्ष पुग्दानपुग्दै बच्चामा अनुशासनको बिउ रोपिइसकेको हुन्छ । त्यसैले बच्चालाई कसरी अनुशासित बनाउने भन्नेमा ध्यान दिन आवश्यक छ ।

हुँदैन नभन्नुस् :
तपाईंले पटक–पटक नाइँ/हुँदैन भन्नुहुन्छ भने बच्चाले पनि त्यही सिक्छ । र, उसले पनि त्यही भन्छ । बिस्तारै यो बानीमा परिणत हुन्छ । त्यसैले हुँदैन भन्नुपहिले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस् ।

स–साना कुरामा ध्यान दिनुस् :
बच्चाको सामान छर्ने, ढोकामा लेख्ने, खेलौना कसैलाई नदिने बानी छ भने त्यस्ता सामान बच्चाभन्दा टाढा राख्नुस् । रङ बन्द भाँडोमा राख्नुस् र आफ्नो सामान पनि उसलाई प्रयोग गर्न नदिनुस् । कहिलेकाहीँ बच्चाले भोकका कारण पनि यस्तो क्रियाकलाप गर्छन् । त्यसैले उसलाई पोषणयुक्त खाना खुवाउनुस् । पूरा सुत्न दिनुस् । उसको ऊर्जा खर्च होस् भनेर पूरा खेल्न दिनुस् ।

निर्णयमा अडिग रहनुस् :
दुईदेखि तीन वर्षको उमेरसम्म बच्चाले आफ्नो क्रियाकलापप्रति मानिसहरूको प्रतिक्रियामा ध्यान दिन्छन् । यदि तपाईंले उसलाई केही सामान फ्याँक्न दिनुभयो भने अर्कोपटक पनि त्यस्तै गर्नेछ । त्यसैले बच्चाले केही गलत काम गर्छ भने प्रेम गरेर गल्ती गर्न नदिनुस् । उसलाई गलत हो भन्ने महसुस गराउनुस् । नत्र त्यो बानी नै बन्छ ।

मायाले सम्झाउनुस् :
बच्चाले भनेको मानेन भनेर नचिच्याउनुस् । त्यसवेला बच्चाले तपाईंको अनुहारको अभिव्यक्ति बुझ्ने कोसिस गर्छ । त्यसले उसमा नकारात्मक प्रभाव पर्छ । त्यसैले उसलाई प्रेमपूर्वक सम्झाउनुस् ।

छोटा वाक्य बोल्नुस् :
बच्चाले गल्ती गरेपछि उसलाई गाली गर्ने स्वभाव हुन्छ । यस क्रममा तपाईं लामा लामा वाक्य बोल्नुहुन्छ । त्यो कुरा बच्चाले बुझ्दैन । त्यसैले छोटो वाक्य बोल्नुस् । गाली गर्नेभन्दा पनि सम्झाउने हिसाबले दुई/तीनपटक छोटो वाक्यमा बोल्नुस् । बच्चाले बुझिहाल्छ ।


  •  
  •  
  •