काठमाडौं ।
गोरो छाला भएको पर्यटक देखेपछि हरेकजसो नेपाली पनि हँसिलो मुहारले स्वागत गर्छन् । त्यसमाथि जोसँग पनि हेलमेल हुने र बालबालिकासँग झ्याम्मिने स्वभावको पर्यटकलाई शंकाको नजरले हेर्ने कुरै भएन ।
जर्मन नागरिक कोर्नेलियस चाँडो घुलमिल हुने स्वाभावका थिए, त्यसैले उनी आफू बसेको होटलका कर्मचारीबाहेक वरपरका स्थानीयसँग पनि प्रिय भइसकेका थिए ।
तर स्थानीयहरु त्यतिबेला छक्क परे, जहिले उनलाई प्रहरीले पक्राउ गर्यो । झसंगै बनाउने आरोप उनीमाथि प्रहरी लगायो—बालयौन दूराचार । चैत १६ गते त्यसरी लेकसाइडको होटलबाट पक्राउ परेका ती जर्मनमाथि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।
‘उसले आफ्नो अपराध स्वीकारिसक्यो’, कास्कीका प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि वज्राचार्यले बिहीबार भने, ‘अबको केही दिनै बाल यौन दूराचारसम्बन्धी मुद्दा उसका विरुद्ध दर्ता हुन्छ ।’
अंग्रेजी उतिसारो नबुझ्ने र नबोल्ने उनीसँग दोभाषेको माध्यमबाट कास्की प्रहरीले बयान लिएको छ । डीएसपी वज्राचार्यका अनुसार कोर्नेलियस आफ्नो मुलुक जर्मनीमा पनि यस्तै प्रकारको अपराधमा सजाय भुक्तान गरिसकेका व्यक्ति भएको समेत पत्ता लागेको छ ।
जर्मनीमा ६ वर्षको जेल सजाय भोगिसकेपछि फेरि नेपाल आएर उस्तै कर्म गर्दा कोर्नेलियस पक्राउ परेको उनले बताए ।
स्रोतले भने इन्टरपोलले कोर्नेलियस नेपालमा लुकिरहेको सूचना नेपाल प्रहरीलाई दिएको थियो । उनले नेपालमा बालबालिकासँग खिचेका तस्बिर आफ्नो साथीहरुलाई पठाएको बुझिएको छ । तिनै फोटोहरुको आधारमा उनी यहाँ रहेको सूचना नेपाल प्रहरीसम्म आइपुगेको हो ।
कोर्नेलियस होटलबाट बाहिर निस्किएर सडक बालबालिकाहरुसँग रमाइरहेका हुन्थे । पक्राउ दिन पनि उनलाई होटलको कोठामा एक बालकसँग सुतिरहेको अवस्थामा प्रहरीले भेटेको थियो ।
८ वर्षअघि पनि नेपाल आएका कोर्नेलियस यसपालि मंसिर १४ गते आएका हुन् । उनको भिसाअवधि पनि सकिइसकेको थियो । भारतीय पर्यटकलाई पनि कास्की प्रहरीले एक महिनाअघि बालयौन दुराचारकै आरोपमा पक्राउ गरेको थियो ।
भारत उडिसाका अशोक रावल १० वर्षे बालकलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका थिए । अपराधका विभिन्न प्रकृतिमा बालयौन दुराचारकै आरोपमा पक्राउ पर्नेहरु अधिकांशतः पर्यटकहरु नै हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
अन्नपूर्णपोष्टबाट