‘भिडभाडमा केटाकेटी नलैजानू’

218
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर ।
भोजभतेर वा जात्रा–महोत्सवतिर जाँदै हुनुहुन्छ? काखे र साना केटाकेटीलाई साथमा नलगेकै बेस! बढ्दो चिसोसँगै सक्रिय भएको भाइरल फ्लु र ब्याक्टेरियाका कारण राजधानीमा श्वासप्रश्वास र टन्सिलको समस्या ह्वात्तै बढेको छ, त्यो पनि धेरैजसो साना नानीहरूमा। चिकित्सकका अनुसार यस्तो भाइरस भिडभाडमा चाँडो फैलन्छ र साना केटाकेटी तथा वृद्धवृद्धामा छिटो सर्ने खतरा रहन्छ।

घट्दो तापक्रमसँगै बालबालिकामा श्वासप्रश्वास र टन्सिलको समस्या बढी देखिन थालेको हो।
पछिल्ला दिन अस्पतालमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, रुघा लाग्ने, बान्ता गर्ने, खकार बढ्ने, राति सुत्न गाह्रो हुने, घाँटी दुख्ने, खाना खान मन नलाग्ने, दुधेशिशुले स्तनपान गर्न नसक्ने लगायत समस्या लिएर धेरै बिरामी आइरहेको चिकित्सकले जानकारी दिएका छन्।
दैनिक आउने बिरामीमध्ये ७० प्रतिशत श्वासप्रश्वास तथा टन्सिलसँग सम्बन्धित रहेको कान्ति बाल अस्पतालको आकस्मिक कक्षको तथ्यांक छ। यो कक्षमा दैनिक आउने ६० बिरामीमध्ये ३५ जनामा यस्तै समस्या पाइएको छ।
अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा दैनिक २५ देखि ३० जना श्वासप्रश्वासका बिरामी आउने गरेका छन्। यीमध्ये कतिपय गम्भीर निमोनिया भएरसमेत आउने गरेको अस्पतालका बालरोग विशेषज्ञ डा. समुन्द्र बजिमयले बताए। उनका अनुसार यस्तो समस्या बढीजसो दुई वर्षमुनिका बालबालिकामा देखिएको छ।
इसान बाल नर्सिङ होमका बालरोग विशेषज्ञ डा. ज्योतिरत्न ढाक्पाका अनुसार उनले दैनिक परीक्षण गरेकामध्ये ६० जना यस्ता बिरामी छन्।
जाडोमा देखिने भाइरल फ्लु र ब्याक्टेरियाका कारण यस्तो रोग फैलिने उनले बताए। भिडभाडयुक्त ठाउँमा यस्तो फ्लुको संक्रमण खतरा भएकाले केटाकेटीलाई सकभर त्यसबाट टाढै राख्नुपर्ने उनको सुझाव छ।
‘यसले केटाकेटीलाई चाँडै असर गर्छ, त्यसैले रोग लाग्नुअघि र लागेपछि अभिभावक सचेत हुनुपर्छ,’ डा. ढाक्पाले भने, ‘भिडको सम्पर्कबाट बच्चालाई टाढा राख्नुपर्छ, संक्रमण भइहाले विशेष हेरचाह गर्नुपर्छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि बिहेभोज, उत्सव तथा अन्य भिडभाडयुक्त ठाउँबाटै यस्तो संक्रमण फैलिने गरेको बताउँछन्।
भाइरल संक्रमणका कारण यो रोग ठूला मानिसमा समेत देखिए पनि शिशु तथा वृद्धलाई सजिलै आक्रमण गर्छ। उनका अनुसार टेकु अस्पतालमा १४ वर्षमाथिका समेत यो रोगबाट संक्रमित भएर आउने गरेका छन्। बढी प्रभावित भने बालबालिका नै छन्।
यो भाइरस गर्मीबाट चिसो बढ्ने मौसममा सक्रिय हुन्छ। रोग लाग्दा सुरुमा सास फेर्न गाह्रो हुन्छ। रुघाखोकीको लक्षण देखिन थाल्छ। समयमै उपचार नपुगे कडा निमोनियाका रूपमा समेत विकसित हुने गरेको डा. ढाक्पा बताउँछन्।
उनका अनुसार राजधानीमा प्रदूषित हावा, आगो बाल्दा निस्कने धुवाँ तथा हावाका माध्यमबाट बच्चाहरूका श्वासप्रश्वास अंगमा ‘रेस्पिरेटरी भाइरस’ अर्थात ‘ब्रोङकोलाइटिस’ (फोक्सोमा भाइरसको आक्रमण) र ‘रेस्पिरेटरी भाइरल इन्फेक्सन'(श्वासप्रश्वास अंगमा हुने) संक्रमण हुने गर्छ। यो समस्या निमोनियाका रूपमा देखा परे पनि परीक्षण गर्दा भने छुट्टै समस्याका रूपमा देखा परेको उनले बताए। ‘निमोनियाकै जस्तो लक्षण देखाए पनि एक्सरे गर्दा अर्कै समस्या देखिन्छ,’ उनले भने।
निमोनियाजस्तै देखिएकाले कतिपय चिकित्सकले निमोनियाकै उपचारस्वरुप एन्टिबायोटिक प्रयोग गर्ने गरेकाले सकेसम्म सुरुमै यसो गर्न नहुने ढाक्पाको सुझाव छ। यसको सट्टा सुरुमा घरमै राखेर प्रशस्त झोल पदार्थ खान दिने, न्यानो पारेर राख्ने र नाक सफा राखेर घरेलु उपचार गर्नुपर्छ। यति गर्दा पनि नभए मात्र औषधि प्रयोग गर्न उनले सुझाव दिए।
यो रोग सार्वजनिक यातायातमा हिँड्दा, भोजभतेरमा जम्मा हुँदा तथा अन्य भिडमा हिँड्दा पनि सर्ने हुनाले सचेत हुन चिकित्सकको सुझाव छ।

लागिहाले कसरी हेरचाह गर्ने?
– प्रशस्त झोलिलो खानेकुरा खुवाउने
– बच्चालाई न्यानो राख्ने
– चिसो छेक्न कोठा पूरै बन्द नगर्ने
– नाक सफा राखिदिने
– रोग लागेको बच्चाबाट अरू बच्चालाई कम्तीमा एक मिटर टाढा राख्ने
– धेरै नै गाह्रो भए अस्पताल लैजाने
लक्षण
– खोकी लाग्ने
– बच्चालाई सास फेर्न गाह्रो हुने
– खाना खान मन नगर्ने
– साना शिशुलाई आमाको दूध खान कठिन हुने
– ज्वरो आउने
– सिँगान तथा खकार बढ्ने
– घाँटी दुख्ने
कसरी बच्ने?
– सामूहिक भेटघाटमा बच्चा नलैजाने
– धुलो तथा धुवाँबाट बचाउने
– कोठामा गुम्स्याएर नराख्ने
– अचानक गर्मी ठाउँ र अति चिसो ठाउँ नलैजाने
– लगिहाले तापअनुसार हेरचाह गर्ने
– नियमित खोप लगाउने
नागरिकबाट


  •  
  •  
  •