बाल दिवसमा मात्र सम्झिइन्छ बालअधिकार

105
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : भूपि शेरचनले आफ्नो कृति ‘घुम्ने मेचमाथि अन्धोमान्छे’ मा सडक बालबालिकालाई सम्बोधन गर्दै लेखे ः

‘उहिले उहिलेको नेपालमा दुई थरीका मानिस भेटिन्थे
एक थरिका मानिसहरु अखबार पढ्दा—पढ्दै हेडलाईनलाई सिरान बनाएर सुत्थे भने
अर्काथरीका मानिसहरु त्यही अखबारबाट प्राप्त न्यानोले पुष माघको जाडोमा कठ्याङ्गिँर्दै बेघर भएर पल्टिरहन्थे ।’

उनले ४० वर्ष अगाडिको नेपाललाई हेरेर यो कृति तयार पारे तर, समयले ठूलै छलाङ मारिसक्दा पनि सन्दर्भमा पनि यी लाइन उत्तिकै सान्दर्भिक लाग्छ । त्यसमा पनि बालबालिकामाथि शारिरीक र मानसिक घटना दिनप्रतिदिन बढ्दै गएको समाचार आजभोली बढी नै आउन थालेका छन् । शेरचनको कृतिसँगै समय परिवर्तन भयो तर वास्तविकतामा परिवर्तन आउन सकेन । आज पनि सडकमा बालबालिका उस्तै अवस्थामा छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले बालबालिकालाई उचित माया, ममता दिएर पठनपाठन अध्ययन अध्यापन गराउनुपर्छ भन्दै बालबालिकालाई शारिरीक र मानसिक यातना दिने खालका काम गराउन नहुने बताइन् । मन्त्री केसीले बालबालिका सम्बन्धी ऐन २०४८ समेत परिमार्जन गर्न र राष्ट्रिय बालनीति २०६८ लागू गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

केन्द्रिय बालकल्याण समितीका अध्यक्ष डिल्लीराम गिरीका अनुसार, ‘सरकारले बालबालिकको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्नका लागि सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेको छ ।’ भनेजस्तो गरी नेपालमा बालबालीकाको अवस्थामा सुधार आउन सकेको छैन । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौं उपत्यकामा करिब ६०० र देशैभरी लगभग पाँच हजार भन्दा बढी बालबालिकाले सडकमै जीवन बिताउन बाध्य भएको अवस्था छ ।

नेपालको अन्तरिम संविधान २०६३ ले बालबालिकाको हक प्रत्याभूत गरेको छ । नागरिक अधिकार ऐन २०१२ मा नाबालकलाई काम लगाउन निषेध गर्दै १४ बर्ष भन्दा कम उमेरका कसैलाई पनि कारखाना वा खानीको काममा लगाउन वा अन्य कुनै पनि जोखिमका काममा भर्ना गर्न हुँदैन भन्दै बालश्रमलाई निषेध गरिएको छ ।

गरिबी, प्राकृतिक विपत्ति, द्धन्दलगायतका कारणले आफ्नो अभिभावक गुमाएका बालबालिका दिनरात सडकमा बिताउन बाध्य छन् । अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा पाँचदेखि १७ बर्ष उमेरका लगभग १६० करोड बालबालिका बालश्रमको जोखिममा छन् ।

‘बालबालिकाका कुरा सुनौं, बालदुव्र्यवहार अन्त्य गरौं’ भन्ने मूल नाराका साथ सरकारले राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको अवस्थामा बालबालिका भने सडकमै छन् ।


  •  
  •  
  •