काठमाडौं १९ चैत ।
एक महिनाको छोरा दूध खानेबित्तिकै बान्ता गर्ने र दुब्लाउँदै जान थालेपछि दोलखा घ्याङ्सुकाठोकरकी शारदा कार्की चिन्तित थिइन्। गाउँमै स्वास्थ्य चौकीदेखि झारफुकसम्म गराउँदा पनि बिसेक नभएपछि उनले छोरा समर्पण कार्कीलाई उपचार गर्न काठमाडौं ल्याइन्।
चिकित्सक रमेश मल्लसँग जाँच गराएपछि उनकै सल्लाहमा समर्पणलाई नेपाल मेडिकल कलेज रिफर गरियो। त्यहाँ उनको पेटको जटिल रोगको शल्यक्रिया गरियो शरीर नचिरीकनै।उनलाई कन्जेनाटल हाइपर ट्रोफिक पाइलोरिक स्टेनोसिस भनिने आमाशयमा सानो आन्द्रा जोडिने ठाउँ खुम्चिने जन्मजात रोग थियो।
शिशुहरूमा जन्मजात हुने यस समस्यामा आमाशयबाट सानो आन्द्रातिर खाना जाने बाटो सानो हुँदा उनीहरूले बान्ता गर्छन् । छोरीमा भन्दा छोरामा बढी देखिने यो समस्या शिशु जन्मेको छदेखि आठ सातासम्ममा पत्ता लगाउन सकिन्छ।
भिडियो एक्सरेबाट रोग पत्ता लागेर अत्याधुनिक विधिद्वारा उपचार पनि भइसकेपछि शारदा अहिले खुसी छिन्। ‘पहिले यस्तो रोग हुन्छ भन्ने थाहै थिएन। सुन्नेबित्तिकै डर लाग्यो’, उनले भनिन्, ‘अप्रेसनपछि अहिले बाबु ठीक भइसक्यो। ढुक्क भएको छ।’
राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चालीस दिनका समर्पणको रोगको उपचार दुरबिन प्रणालीबाट नचिरीकनै गरिने शल्यक्रिया ल्याप्रोस्कोपीबाट गरिएको हो। यति सानो शिशुमा सफल शल्यक्रिया नेपालमै पहिलोपटक भएको दाबी उनको उपचारमा संलग्न बाल शल्यचिकित्सक रितेश श्रेष्ठको छ।
भारतको गंगाराम अस्पतालबाट ल्याप्रोस्कोपीको तालिम लिएका चिकित्सक श्रेष्ठले आइतबार समर्पणको शल्यक्रिया गरेका हुन्। ‘नेपालमा ल्याप्रोस्कोपी मेसिन भित्रिएको धेरै समय भएको छैन’, उनले भने, ‘विदेशमा हुने गरेको यो उपचारपद्धति नेपालमा पहिलोपटक प्रयोग गरेका हौं।’ अन्नपूर्णपोष्टबाट