जबरजस्ती बिहेविरुद्ध रिंकुको विद्रोह

135
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।
उमेर नपुग्दै अभिभावकले जबरजस्ती बिहे गरिदिन लागेपछि वीरगन्जकी रिंकु ठाकुर लोहारले विद्रोह गरेर घर त्यागेकी छन् । बुधवार विहान घरपरिवार छाडेर निस्किएकी रिंकुलाई वीरगन्जस्थित माइती नेपालको आˆनो आवधिक गृहमा संरक्षण दिएर राखेको छ  ।
‘आज मलाई गलत भन्ने मेरा बुबाआमा र समाजलाई भोलिका दिनमा म सही थिएँ भनेर देखाउनु छ,’आवधिक गृहमा बुधवार भेटिएकी १७ वर्षीया रिंकुले भनिन् ‘यो कुरालाई मैले इखकै रुपमा लिएकी छु । म अझै पढ्छु । मधेसी समाजका लागि नमुना बनेर देखाउँछु ।’

वीरगन्ज उपमहानगरपालिका १ छपकैयाका नागेन्द्र ठाकुर लोहारकी जेठी छोरी हुन् रिंकु । उनले १२ कक्षा पास गरेकी छिन् । उनका एक बहिनी र भाई छन् । उनी हाल वीरगन्जकै तराई एफएममा समाचार वाचन गर्छिन् ।

मधेसी दलित परिवारकी रिंकुको उनका अभिभावकले उमेर नपुग्दै भारत घोडासहनका सात कक्षा पढेका युवकसँग बिहेको कुराकानी छिनेका छन् । वैशाख १३ मा उनको बिहे तय भएको छ । बिहेका लागि रिंकुका अभिभावकले केटा पक्षलाई नगद एक लाख ३० हजार रुपैयाँ दाइजो बुझाइसकेका छन् ।
उमेर नपुगेकाले अहिले बिहे नगर्ने र अझै पढ्ने इच्छा बारम्बार सुनाउँदा पनि बुबाआमाले जबरजस्ती बिहेको कुरा छिनेको रिंकुले बताइन् । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •