कापी कलम समाउने हातमा हथौडा

300
  •  
  •  
  •  

Gitti kutdaiओखलढुंगा, ६ चैत(ओएनएस) : ‘गिट्टी नकुटेर के गर्नु त, आमाले पनि छोडेर गइहालिन्’ सदरमुकाम ओखलढुंगा बजारमा आफ्नी हजुरआमासँग गिट्टी कुट्दै भेटिएका ओखलढुंगा ४ गोरुमारे भञ्ज्याङका १३ वर्षीय निशान विकले गहभरी आँसु पार्दै भने । उनलाई दिनभरी गिट्टी कुटेर बेलुका खाने अन्न जुटाउने चिन्ता छ । आफै अरूको सहायतामा बाँच्नु पर्ने उमेरमा उनीमाथि ४ वर्षीया बहिनीको समेत पालन पोषण गर्नु पर्ने जिम्मेवारी छ ।

सिद्धिचरण नगरपालिका ३ का उर्मिला कालिकोटे र भीमबहादुर कालिकोटेका तीन सन्तान अहिले हजुरआमा रामकुमारी विकको शरणमा छन् । छुट्टिएका छोराबुहारीले नाबालक नाति नातिनीलाई छोडेपछि उनले दिनभरी गिट्टी कुटेर आफ्ना अपांग पति र नाति नातिनीलाई स्याहार्दै आएकी छिन् ।

हजुरआमासँग गिट्टी कुट्न आएका १३ बर्षीय निशान र ११ बर्षीया उनकी बहिनी सुजिता पेट पाल्नकै लागि दुई वर्ष अगाडिदेखि श्रम गरेको बताउँछन् । उनीहरूको दैनिकी प्रत्येक दिन यो भन्दा फरक भेटिदैन । एक टिन गिट्टी कुटेको उनीहरुले ३० रुपैँया पाउने हजुरआमा रामकुमारी विकले बताइन् । उनलाई नाति, नातिनी मात्र होइन, आफ्नै पतिलाई पनि पाल्नु पर्ने बाध्यता छ । पति शारीरिक रुपमा अशक्त भएपछि ५ वर्षदेखि ओछ्यानमा परेका छन् ।  बुहारीले अर्को बिहे गरेर हिडेपछि छोराले पनि वास्ता गरेन, विकले गुनासो गरिन् । छोरा बुहारीले छोडेपनि उनलाई भने अशक्त पति नाबालक नाति नातिनी पाल्न दैनिक कडा श्रम नगरि धरै छैन ।

गाउँका अरू साथीहरु विद्यालय गएपनि पेट पाल्नु पर्ने समस्याले उनीहरू दैनिक गिट्टी कुट्ने काममा लागेका हुन्छन् । नेपालको अन्तरिम संविधानमा १४ वर्षमुनिका बालबालिकाहरुलाई काममा लगाउन नपाइने व्यवस्था भएपनि उनीहरुका अभिभावक नभएपछि पेट पाल्न कडा परिश्रम गर्दै आएका छन् । सदरमुकाममै बालबालिकाहरूले कडा श्रम गर्न बाध्य भए पनि सहयोगी कोहि नपाएइएको रामकुमारीको गुनासो छ । बालअधिकारका ठूला कुरा गर्ने विभिन्न संस्थाहरुले कुनै सहयोग नगरेको भन्दै रामकुमारीले आक्रोस पोखिन् ।

रामकुमारीको परिवार, निशान र सुजिना त प्रतिनिधि पात्र मात्रै हुन् । दैनिक अर्काको श्रम नगरी छाक टार्न नसक्ने समस्या भएका परिवारका बालबालिकाहरू बाल भरिया र अन्य कडा परिश्रम गर्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु पर्ने अवस्थामा पुगेका उनीहरुलाई कुनै पनि निकायले सहयोग गरेको छैन । बालबालिकालाई श्रममा लगाउन नपाइने कानुनी प्रावधान भएपनि सरकारले कामै नगरी पेट पाल्न नसक्ने अवस्थाका परिवारका बच्चाहरुका लागि ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

 नेपाल बार एसोसिएसन जिल्ला बार इकाइका सचिव एवं अधिवक्ता टुकराज निरौला असहाय र अनाथ बालबालिकाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताउँछन् । सदरमुकाममै बालबालिकाले श्रम गरेर बाँच्नु पर्ने अवस्था छ भने दुर्गम गाउँका गरिबीको रेखामुनी रहेका परिवारका बालबालिकाहरुको अवस्था झन् दयनीय भएको निरौलाले बताए । गरिबीले विद्यालय जान नसक्ने जाखिममा रहेका बालबालिकालाई सरोकारवाला निकायले उनीहरुको अवस्थामा ध्यान दिन सकेका छैनन् ।


  •  
  •  
  •