भदौ २९ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । यस दिन एका बिहानै एक जना महिलासँग भेटभयो । उहाँ होटलमा काम गर्ने आफ्नो १२ वर्षको छोरोलाई साँफेबगरमा भेट्न आउनु भएको रहेछ । उहाँले निरन्तर मनको ब्यथा पोख्न भयो ।
मेरो ४ वटा बच्चा छन् । तीन वटा छोरा एउटा छोरी । जेठे छोरो कलिलो उमेरमै कक्षा ७ मा पढ्दा पढ्दै राजगारीको खोजीमा भारत गएको छ ।
मेरो श्रीमानको मृत्यु पश्चात छोराहरुले भाइबहिनी पढाउन काँधमा भारी बोक्नु भएको छ । आँखामा आँसु पुछ्दै भन्नुभयो । श्रीमान मृत्यु भयो । उहाँले भारतमा नौकरी गरेर बाल बच्चा पढाउनु भएको थियो । वर्षभरि काम गरेर पनि खेतीबाट उब्जनी भएको अनाजले पाँच महिनासम्म पनि खान पनि पुग्दैन ।
अनि यी कलिला बच्चा आफ्नो पेट पाल्न र हामिलाई पाल्न सानैमा घरबाट टाढा बस्न बाध्य छन् । जेठो छोरो पढाइमा पनि राम्रो थियो । उसले त पढ्ने चाहना गरेको थियो ।
मैले पढाउन नसकेर बाध्यताका कारण विदेशिनु पर्यो । यि चार वटा बच्चालाई लुगा कपडा र कलम कापि किन्न पनि पैसा हुँदैन । ४ वटा बाल बच्चा कसरी पाल्ने । खानको लागि पैसा खोज्ने कि पढाउनको लागि पैसा खोज्ने ।
विद्यालयबाट पनि कहिले के को पैसा कहिले केको पैसा मागि रहन्छन् । ऋण खोजेर पनि पैसा पाइदैन । के गर्नु मेडम त्यसकारण दुःख लाग्छ । सानो छोरालाई पनि पछि अलि ठूलो भएपछि बम्बै पठाउँछु । यता पनि पैसा राम्रो दिँदैन ।
जम्मा ६ हजार दिएको छ रे । त्यसले के गर्नु खाली दुःख मात्र छन् । यि बच्चा नभएदेखि बाँच्ने पनि थिएन मेडम । जिन्दगी देखि धेरै दिक्क लागि सक्यो । खेति गरेको पनि बाँदर र बँदेलले सबै खाइदिन्छ । राति राति जागा रहेर बँदेल भगाउनु पर्छ । एक त गाउँमा कोहि छैन । सबै जना गाउँ छोडेर भागि सके । हामी कता जाऊ । हामी जस्ता गरिवको जाने ठाउँ पनि कहि छैन । गाउँमा बस्ने वातावरण बनाइ देऊ सरकार ।
एक महिना अगाडि पनि एक जना १४, १५ वर्षको किशोर राति सडको छेउमा बसेर रुदै गर्दा एक जना स्थानीय युवाले सेफहाउमा राख्न पहल गर्नुभएको थियो । उसको कथा पनि सनाइ नसक्नुछ । आमाको मृत्यु पश्चात बुवाले अर्को विहे गरेको रहेछ । घरमा बस्ने राम्रो वातावरण नभएर पनि ऊ घर बाट भागेर साँफेको कुनै होटलमा कामको खोजिमा आए । होटेलमा काम गरेको पाँच महिनासम्म पनि एक पैसा नदिन त्यो होटलबाट भागेर अलपत्र परको थियो ।
यस्तै करिब एक महिना अघि गोर्खाबाट एक जना मलाई चिन्ने साथिले फोन गर्नु भयो ।
तपाईको क्षेत्रका तीन जना बालक कामको खोजिमा गोर्खा आएका छन् । कामको खोजिमा काठमाडौंमा अलपत्र परेका तीन तीन जना बालबालिकाहरुलाई एक जना ठेकादारले गोर्खामा लगेर त्यहाँ खाने पानीको पाइहप लाइन खस्ने काममा लागेका रहेछन् ।
गोर्खाका वडा अध्यक्षलाई तुरुन्तै फोन गरेर उहाँहरुलाई सुरक्षित राखि दिनु होला म उहाँहरुको उदारको लागि पहल गर्छु भनि खबर गरे । पहिले उहाँहरुको ठेगाना पत्ता नलागेर बाजुराका धेरै पालिका मेयर र वडा अध्यक्षलाई उहाँहरुको परिवार पत्ता लगाउन आग्रह गरे ।
ठेकेदारलाई सम्पर्क गरी बच्चाहरुको ठेगाना पत्ता लाग्यो । उनीहरु बाजुरा बुढीनन्दा गाउँपालिका वडा नं ७ का रहेछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरुलाई पनि यस्तो छ भनि जानकारी गराइयो ।
त्यति मात्र होइन १०९८ मा पनि खबर गरियो । त्यो क्षेत्रका राजनीति दल, सुदुरपश्चिम सरकारका ब्यक्ति र अन्य केहि जिम्मेवार ब्यक्तिहरुसँग पनि कुरा गरियो । सबैको एउटै जवाफ पाए बुझेर तपाईलाई खबर गर्छु दुई, तीन दिन बितिसक्दा पनि कोहि कसैले फोन गदैनन् । फेरि के भयो भनि फोन गर्दा सबैको एउटै जवाफ पाए बैठकमा अति ब्यस्त भएर बुझनै पाएको छैन ।
म तपाईलाई पछि फोन गर्छु है भनि फोन राख्नु हुन्छ । फेरि फोन आउदैन कसै कसैको त फोन गर्दा पनि उठ्दैन होइन यति संवेदनशिल विषयमा जानकारी पाएपछि अलि चिन्तित भइ सकृय भूमिका निर्वाह गर्नुपर्ने कतव्र्य होइन र ? किन समस्या पर्दा कोहि पनि संवेदनशिल हुँदैन मन्त्रीदेखि मन्त्रीका पिए,प्रदेश सचिवदेखि वडा स्तरका जनप्रतिनिधिहरु,संस्थाका कर्मचारी,अधिकारकर्मी सबैलाई लाई जानकारी दिएको थियो । तर पनि सबै जना ब्यस्त भएर होला कसैले पनि राम्रो संग चासो दिनु भएन । पछि ति ठेकादारको सहयोगमा बल्ल बल्ल काठमाडौं ल्याउन सफल भइयो । तीन जनामध्ये दुई जनाको घरको आर्थिक अवस्था एक दम नाजुक रैछ ।
। त्यसैले हामी कामको खोजीमा काठमाडौं आएका हौं भन्नुभयो । तर एक जनाले चाही घर फिर्ता हुने चाहना राख्नुभयो ।
उनीहरुलाई काठमाडौंमा अध्ययनको लागि केहि गर्न सकिन्छ भनेर धेरै बाल गृहसँग छलफल भयो तर अहिले धेरैजसो बाल गृहमा बजेटको समस्या भएर सञ्चालन गर्न धेरै ग्राहो छ । थप बच्चाहरु राख्न असमर्थन छौं भन्ने जवाफ पाए । केहि सीप नलागेपछि उनीहरुलाई अभिभावकसँग कुरा गरेर घर फिर्ता गराइएको छ ।
यसवर्ष पनि बालदिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भए । ती खादा माला र मञ्चको भाषणले ती कलिला बालबालिको मुहार हसाउन सकिन्छ होला । आज नेपालका हरेक शहरमा बालश्रम शोषण छ । शहरको पेटिमा बालबालिका सुत्न बाध्य छन । ती बालबालिकाहरुले आजको दिनमा न्याय पाउलान प्रश्नको उत्तर पाउन ग्राहो छ ।
आज कुनै पालिकाले बजार अनुगमन गर्लान,बाल श्रममा परेका र अन्ययामा परेका र गरिबीको चरम पिडामा पिल्सिएका बच्चाहरुको न्यायको लागि नीति बन्ला ? बाल दिवसको नाममा ठूला भाषण सहित कार्यक्रम समापन हुन्छन । बाल परिषददेखि लिएर महिला मन्त्रालय, प्रदेश सरकार स्थानीय तह पािलका र वडा स्तरमा हेर्दा एउटै कार्यक्रम एउटै शैली अझ भन्दा वितरणमुखी मात्र कार्यक्रम गर्नाले के साच्चै बालबालिकाको अधिकार प्राप्त भएको हुन्छ ? आजको बदलिदो यो परिस्थितिमा घरेलु हिंसाका कारणले बालबालिकाहरु अलपत्र परिरहेका छन् । मानसिक रुपमा रोगि भएका छन् । परिवार र आमा बुवाको माया नपाएर तड्पिरहेका छन् ।
विद्यालयको फि तिर्न नसकेर विद्यालय छाड्न बाध्य भएको बच्चालाई बाल अधिकार के हो ? भन्ने कुराको महसुस गराउन सकिएला र ?
नगर पालिकाको हलमा कार्यक्रम गदै गर्दा नजिकै होटलमा बाल श्रमको सिकार भएका बालबालिकाहरु टुलुटुलु हर्न बाध्य छन् । उनीहरुको नजिकैबाट हातमा प्ले कार्ड बाक्दै नार लगाउँदै सामाजिक संस्थाका कर्मचारी, जनप्रतिनिधिहरु र राजनीतिक दलका कार्यकर्ताहरु बालश्रम गर्न पाइदै भन्ने नारा लगाइ रहँदा त्यो बच्चालाई जिस्काएको अनुभुति हुँदैन होला र ?
यो वर्षको बाल अधिकारको दिवस केवल दिवसमा मात्र सिमित नहोस् अन्याय विभेद र गरिबीको चपेटामा परेका बालबालिको सुनौलौ भविश्यको लागि केहि नयाँ नीति बन्नला कि त्यहि आशामा छु ।