अस्पतालमै बच्चा चोरी

290
  •  
  •  
  •  

काठमाडौं २२ साउन (ओएनएस) :
शल्यक्रिया गरेको आधा घन्टामै अस्पतालभित्र बच्चा गायब भएको छ। नेपालगन्ज–१ धम्बोझीकी १८ वर्षिया रुकमिनी काँदुले जन्माएको बच्चा चोरी भएको हो। प्रसव बेथाले च्यापेपछि घरपरिवार र माइती मिलेर उनलाई नर्सिङ होम पुर्‍याएका थिए। पेटमा जुम्ल्याहा बच्चा भएकाले सहजै जन्माउन असम्भव भएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका थिए।

रुक्मिनीलाई आइतबार (१८ गते) राति ८ बजे शल्यक्रिया कक्षभित्र लगियो। केहीबेरमै नर्सले एक र दुई किलो तौल भएका जुम्ल्याहा छोरा ल्याएर परिवारलाई सुम्पिइन्।
परिवारमा पहिलोपटक जुम्ल्याहा छोराको आगमन भएपछि खुसीमा रमाएका उनीहरू कोहीले फोन गर्न थाले र कोही सुत्केरीलाई रगतको जोहो गर्नतिर लागे। त्यहीबेला अपरिचित एक महिला (घुम्टो ओढेकी) ले बच्चा समात्न खोजिन्। उनीहरूले समात्न दिए। कम तौल भएका जुम्ल्याहा बच्चामा स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार एनआइसियु कक्ष लैजाने तयारी भइरहेको थियो।
अपरिचित महिला बच्चा लिएर एक्कासि गायब भएपछि शल्यक्रिया कक्षबाहिर हल्ला खल्ला मच्चियो। परिवारमा छाएको खुसी फैलन नपाउँदै छिनभरमै लुटियो। ‘तपाईलाई अप्ठेरो भयो खै दिनुस् एकछिन म समात्छु भनेपछि समात्न दियौं,’ घटना सुनाउँदै रुक्मिनीकी सासु कुन्नीले नागरिकसँग भनिन्, ‘सुरुदेखि नै ऊ (महिला) हाम्रो पिछामा थिई। सहयोग गरेजस्तो गरेर बच्चा चोर्ने उसको उद्देश्य रहेछ।’
घटना हुँदा रातको ९ बजिसकेको थियो। अस्पतालका सुरक्षा गार्डले घटना थाहा पाए। लगत्तै पुगेको प्रहरीले अस्पतालभित्र र बाहिर खोज्दा पत्ता लागेन। बच्चा हराएदेखि काँदु परिवार तनावमा छ। घटना भएको चार दिन पुग्दासमेत अस्पताल प्रशासनले नैतिक रूपले जिम्मेवारी नलिएको भन्दै परिवारले आक्रोश पोखेका छन्। पेटको शल्यक्रिया गरिएका कारण हिँड्न नसक्ने अवस्थामा पुगेकी रुक्मिनी अहिले पनि नर्सिङ होममा छिन्। परिवारले उनलाई घटनाको जानकारी दिएका छैनन्। जुम्ल्याहामध्येका एक छोरालाई एनआइसियु कक्षमा राखिएको छ। एउटा बच्चा चोरी हुनु, अर्को बच्चा अस्वस्थ भएर एनआइसियुमा भर्ना हुँदा परिवारका सदस्य चिन्तामा छन्।
‘बुहारीलाई घटना सुनाउनेबित्तिकै सम्हाल्न गाह्रो हुन्छ। त्यही भएर अहिलेसम्म भनेका छैनौं,’ कुन्नीले सुनाइन्, ‘भगवानको कृपाले छिट्टै बच्चा सकुशल मिलोस्।’
उनका अनुसार बच्चा चोर्ने महिला आफू अस्पतालमा आफन्त भेट्न आएको बताएर नजिक परेकी थिइन्। आफ्नो नाम, ठेगानासमेत नबताएकी ती महिलाको उद्देश्य बच्चा चोर्नु भएको कसैले भेउसमेत पाएका थिएनन्। ‘सुरक्षित रूपले सुत्केरी गराउन बुहारीलाई अस्पताल ल्याएका हौं,’ परिवारका एक सदस्यले भने, ‘अस्पतालभित्रै सुरक्षा पाएनौं।’
अस्पतालभित्र सुरक्षाका लागि विभिन्न कक्षमा सुरक्षागार्ड राखिएको छ। तर चोरीका घटनामा रोकिएका छैनन्। नर्सिङ होमका प्रबन्धक डाक्टर एम. किदवाई आफन्तकै मिलेमतोमा बच्चा गायब पारिएको दाबी गर्छन्। ‘बाहिरको व्यक्तिले बच्चा चोर्न सक्दैन,’ उनले भने, ‘यसमा आफन्तकै बद्मासी हुन सक्छ।’
बच्चा चोरी भएको घटना थाहा पाएर अस्पतालका बिरामी, कुरुवा र सुत्केरी महिला यतिबेला निकै त्रासमा छन्। अस्पताल प्रशासनको सुरक्षा कमजोरीले नै बच्चा चोरी भएकाले घटनाको जिम्मेवारी उसैले लिनुपर्ने बिरामी कुरुवाहरू बताउँछन्। ‘अस्पतालले आफ्नो कमजोरी स्वीकार्नुपर्छ,’ एक कुरुवाले भनिन्, ‘यसबाट पाठ सिक्दै फेरि पनि यस्ता घटना दोहोरिन नदिन अस्पताल प्रशासन गम्भीर बनोस्।’
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हेम शाहीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए। ‘अचम्म खालको घटना भयो, चोरीमा संलग्न महिलाको पहिचान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘घटनाको दिन दुईजना मुस्लिम महिलाले बच्चा बोकेर बाहिर निस्केको गेटको सुरक्षा गार्डले देखेको रहेछ। उनीहरू कसरी बाहिर निस्कन सफल भए, त्यो अनुसन्धान गर्दैछौं।’नागरिकबाट


  •  
  •  
  •