चितवन, २७ जेठ (ओएनएस) : परिवारले अस्पताल ल्याएर छाडेपछि चितवनको भरतपुर अस्पतालमा एक बालक वेवारिसे भएका छन् । उनी विगत सात वर्षदेखि एउटै शैयामा बसिरहेका छन् । परिवारले अस्पताल ल्याएर छाडेपछि बेवारिसे भएका विशाल अधिकारी नाम गरेको ती बालकको ठेगानासमेत खुलेको छैन ।
अहिलेसम्म उनलाई लिन कोही आफन्त पनि नआएको अस्पतालका बालरोग विभाग प्रमुख डा. आमोदबहादुर थापाले जानकारी दिए । पुनः स्थापना केन्द्रमा लैजान सके उनको अवस्था सुधार हुने भन्दै डा. थापाले उसलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
सात वर्षअघि ०६४ साल साउन ३० गते परिवारका सदस्यहरुले विशाललाई अस्पताल ल्याएका थिए । उनी हाल पनि अस्पताल बाल वाडको १३ नम्बर शैयामा छन् । उनी अहिले १५ वर्षका भए ।
अस्पतालमा चौध वर्षभन्दा माथिकालाई बाल वाडमा नराख्ने गरिएको भएपनि वेवारिसे भएपछि उनलाई राखिएको बाल वार्डकी इन्चार्ज एवम् नर्सिङ निरीक्षक शोभा महत्तोले बताइन् ।
‘विशालले सामान्य नागरिक सरह व्यवहार गर्न सक्दैनन् । उनी सुस्तःमनस्थितिका रहेकाले भरतपुर अस्पतालले जनाएको छ । उनलाई अस्पतालमा भर्ना गर्दा बुबाको नाम होमनाथ अधिकारी उल्लेख गरिएको छ तर उनको ठेगाना फेला पार्न सकिएको छैन ।