‘मन्त्रीसमेत तर्साउने मुख्यसचिव’

214
  •  
  •  
  •  

lilamani-paudelकाठमाडौ, १४ साउन(ओएनएस) : मुख्यसचिव लीलामणि पौड्यालले तीनवर्षे पदावधि पूरा गरी यही साउन २२ मा अनिवार्य अवकाश लिँदै छन् । प्रशासनिक तथा शासकीय बेथिति नियन्त्रणमा पौड्यालले खेलेको भूमिकाले मुलुकको सर्वोच्च प्रशासनिक पद प्रति आकर्षण झनै बढेको छ । नत्र यसअघि यो पद केवल तीन वर्ष जागिर लम्ब्याउने, मन्त्रिपरिषद बैठकका निर्णय आफ्ना ‘प्रभु’का इच्छा अनुसारका भाषामा लेख्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट वितरण हुने आर्थिक सहायतालाई सहजीकरण गर्ने, प्रधानमन्त्रीका विदेश भ्रमणमा सहभागी हुने र भावी पद (राजदूत वा संवैधानिक निकाय) का लागि सम्पूर्ण शक्ति लगाउनेमा सीमित थियो ।

यो पदलाई सबैभन्दा बढी अपमानित गर्ने पूर्व मुख्यसचिव भोजराज घिमिरे थिए, जसले पदमा छँदै आफ्ना लागि क्यानाडा जस्तो मुलुकमा नयाँ राजदूतावास खोल्न लगाए । मुख्य सचिवबाट निवृत्त भएलगत्तै त्यहीँ राजदूत भए । त्यो पद पाउन उनले के मात्र गरेनन् ? राष्ट्रपति पद पाउन गिरिजाप्रसाद कोइरालाले माओवादीका जति धेरै सर्त शिरोपर गरेका थिए, त्यसभन्दा निकै बढी नाजायज सर्तहरु घिमिरेले आत्मसात् गरे । लोकसेवा आयोगका पूर्वसदस्य कृष्ण पोखरेलले एक कार्यक्रममै भनेका थिए, पछिल्ला पाँचवर्षमा देखिएका प्रशासनिक विकृतिका ९० प्रतिशत कारक एउटै भोजराज घिमिरे हुन् ।

भोजराज घिमिरेका कारण उत्पन्न प्रशासनिक बेथिति नियन्त्रण गर्न उनका उत्तराधिकारी माधव घिमिरेले पनि कुनै प्रयास गरेनन् । संक्रमणकालीन अवस्थामा ‘चेन्ज एजेन्ट’को रुपमा काम गर्नुपर्ने भन्दै उनी राजनीतिक महत्वाकांक्षा–उन्मुख गतिविधिमा लागे । र, पछि उनी खिलराज रेग्मी मन्त्रिपरिषदका शक्तिशाली मन्त्री पनि भए ।

मुख्य सचिव पदलाई सक्दो धेरै सक्रिय र आफ्नो भूमिकामा खरो उतार्ने प्रयास गर्ने पौड्याल अहिलेसम्मका मुख्यसचिवहरुमा एक्ला हुन् । उनले कसैलाई रिझाउनलाई काम गरेनन् । मन्त्रालयहरुबाट आउने हरेक प्रस्तावमा उनले उनले राष्ट्र र जनताको हित छ कि छैन भनेर खुट्याए । गडबडीको संकेत पाउँदा उनले मन्त्रालयमै फिर्ता पठाउने जोखिम समेत मोले । उनले यही गरेका कारण बामदेव गौतम, रामशरण महतहरुले त मन पराउने कुरै थिएन । बरु एनपी साउँदले समेत प्रधानमन्त्रीकै अगाडि आफ्ना विभागीय सचिवलाई निर्देशन दिए, ‘अबदेखि मन्त्रिपरिषदमा कुनै पनि एजेन्डा ल्याउनु अघि मुख्यसचिवको पूर्व स्वीकृति लिनू ।’

मितव्ययिता मुख्यसचिव पौड्यालको अर्को एजेन्डा बन्यो । सचिवलाई कार्यकक्षमै थुन्ने सुब्बाहरुलाई प्रोत्साहित गर्ने, सिंहदरबारभित्रै बन्द र हडताल गर्दा पनि कुनै कारवाही नगर्ने, अनि ट्रेड युनियनका नाममा आफ्नै हाकिमलाई अश्लील गाली गर्दा पनि सहेर बस्नुपर्ने अवस्था भोजराज घिमिरेले सिर्जना गरे । माधव घिमिरेले त्यसलाई निरन्तरता दिए । तर, मुख्यसचिव पौड्यालले त्यो गर्न सकेनन् । कार्यालयको कामथाँती राखेर ट्रेड युनियनका नाममा हुल बाँधेर हिँड्ने, सरुवा र बढुवाको सिफारिस गर्ने अनि सचिवहरुसँगै कुम जुधाएर बस्ने अवस्थाको अन्त्य गर्नेतर्फ उनले प्रयास गरे । कम्तीमा प्रधानमन्त्री कार्यालयमा नेताको बिल्ला भिरेर आउने कामचोर कर्मचारीहरुलाई पौड्यालले ढिम्किनदिएनन् ।

स्वतःबढुवाका नाममा निजामती सेवा ऐनमा राखिएको २४ (घ१) को व्यवस्थाले उब्जाएका विकृति रोक्न कसै न कसैले कठोर कदम चाल्नैपर्ने थियो । त्यो काम मुख्यसचिव पौड्याल र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरे । डीभी, पीआर र ग्रीन कार्डवाला राष्ट्रसेवकलाई कारवाही गर्ने अभियानलाई कानुनी रुप दिन पनि पौड्याल र पण्डितको जोडीको जोडबलले नै कामगर्यो । जबकि, मन्त्रिपरिषदकै कतिपय सदस्यहरू यो अभियानलाई तुहाउने प्रयासमा थिए ।

खासमा मुख्यसचिव कार्यकारी कम, समन्वयकारी भूमिका बढी हो । मुख्यसचिवलाई भन्दा बढी अधिकार सचिवलाई रहेको छ । सचिवहरु आफ्नै विभागीय मन्त्रीहरुसँग साँटगाँठगर्ने, भटाभट मन्त्रिपरिषदबाट निर्णय गराउने तर, कतै पनि जवाफदेही नहुने अवस्थाले नीतिगत निर्णयमा अराजकता व्याप्त थियो । तर, सुशासन ऐनलाई पौड्यालले पहिलोपल्ट क्रियाशील गराए र सचिवहरुलाई मुख्य सचिवका निर्देशन बाध्यकारी हुने बनाइदिए । त्यसपछि हरेक निर्णय गर्नुअघि र मन्त्रिपरिषदमा आउने प्रस्तावहरू ल्याउनु अघिमन्त्री र सचिवहरु कम्तीमा तीनचोटि सोच्न बाध्य हुनथाले । त्यसैले उनलाई अचेल सिंहदरबारमा भन्ने गरिन्छ, ‘मन्त्री डराउने मुख्यसचिव ।’

अबको नयाँ मुख्यसचिव को यो पनि पढ्नुस् : मुख्यसचिव र प्राधिकरणमा कांग्रेस–एमालेको घम्साघम्सी

अब के यो पदमा यस्तै व्यक्ति आउला ? पौड्यालले बसालेका थिति र चलाएका अभियानले निरन्तरता पाउलान् ? मन्त्रिपरिषद कार्यालयको कुनै कर्मचारीले आफ्ना निर्णय वा प्रस्तावहरुको गुदी केलाउँछन् भन्ने भयले मन्त्री र सचिवहरु सतर्क हुने दिन रहिरहलान् ? यी प्रश्न त्यतिबेलासम्म निरुत्तरित रहनेछन्, जब सम्म भोलि आउने मुख्यसचिवले कामबाटै आफूलाई प्रमाणित गर्छन् ।


  •  
  •  
  •