एमालेको नयाँ नेतृत्वसँग सहकार्य गर्न चीन तयार  : राजदुत

587
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस) :  काठमाडौं, नेपालका लागि चीनियाँ राजदूत वू चुन्ताईले नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । नेता नेपालको निवास कोटेश्वरमा बिहीबार विहान भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)ले भर्खरै सम्पन्न गरेको महाधिवेशन तथा नेपाल चीन सम्बन्धमा विविध विषयमा कुराकानी भएको छ ।

सो अवसरमा चीनियाँ राजदूतले सफलतापूर्वक नवौँ महाधिवेशन सम्पन्न गरेकोमा पूर्वप्रधानमन्त्री नेपाललाई बधाई ज्ञापन गरेका थिए । नेपाल र चीनबीच रहिआएको गहिरो सम्बन्धलाई थप मजबूत बनाउन नयाँ नेतृत्वसँग सहकार्य गर्न चीन तयार रहेको कुरा समेत चीनियाँ राजदूतले उक्त अवसरमा व्यक्त गरेका थिए । नेता नेपालले राजनीतिक क्रान्तिको एउटा चरण सम्पन्न भएको र अबको प्रमुख कार्यभार आर्थिक क्रान्ति रहेको विषय सहितको राजनीतिक दस्ताबेज महाधिवेशनबाट एकमना एकताका साथ पारित भएको बताउँदै गराउँदै अब आफ्नो ध्यान आर्थिक क्रान्ति र जनताको सम्बृद्धितर्फ केन्द्रित रहने जनाए ।

चिनियाँ राजदूतले उक्त प्रस्ताव पारित गरेकोमा बधाई ज्ञापन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न चीन सदा तत्पर रहेको जानकारी दिए । चिनियाँ राजदूतले नेपाल छिटो संविधान निर्माण गरी आर्थिक सम्बृद्धिको बाटोमा अघि बढोस् भन्ने चिनियाँ चाहना रहेको र यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको कुरा समेत उल्लेख गरे ।


  •  
  •  
  •