छिट्टै मन्त्रिमण्डल पूनर्गठन हुन्छ : पौडेल

224
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताए ।

नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’

सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आईरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरे ।

उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे । पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए ।


  •  
  •  
  •