चेन्नईको दोस्रो र बेङग्लोरको पहिलो जित

184
  •  
  •  
  •  

IPL-2015काठमाडौ, २९ चैत(एजेन्सी) : आईपिएलमा गयराती सम्पन्न खेलहरूमा चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएका छन् । चेन्नईले सनराइजर्स हैदरावादलाई ४५ रनले र बेङ्ग्लोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेट पराजित गरेका थिए ।

पहिलो खेलमा हैदरावादले चेन्नईले दिएको २ सय १० रनको विजय लक्ष्य पछ्याउने क्रममा १ सय ६४ रन मात्र जोड्न सफल भएपछि चेन्नई ४५ रनले विजयी भएको थियो । यसअघि ब्रेण्डन म्याकुलमले आक्रामक शतकीय पारी खेलेपछि चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । यस्तै, चेन्नईका लागि कप्तान धोनीले ५३ रन र ड्वेन स्मिथले २७ रन जोडेका थिए । २ सय १० रनको विजय लक्ष्य पछ्याएको हैदरावादका लागि डेभिड वार्नरले ५३ रन, केन विलियम्सनले अविजित २६ रन, शीखर धवनले २६ रन र रवी बोपाराले २२ रन जोडेका थिए ।

हैदरावादका लागि ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए भने ३ खेलाडी रन आउट भएका थिए । यस्तै, चेन्नईका लागि मोहित शर्मा, ड्वेन ब्राभोले समान २-२ विकेट र ईश्वर पाण्डे र आर आश्विनले समान १-१ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच ब्राण्डन म्याकुलम घोषित भएका छन् ।

यस्तै, दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले दिएको १ सय ७८ रनको विजय लक्ष्य पछ्याउने क्रममा ७ विकेट गुमाएर बेङ्ग्लोरले उक्त लक्ष्य भेट्टाएको थियो । उसका लागि क्रिस गेलले विस्फोटक पारी खेल्दै ९६ रन जोडेका थिए भने एबी डिभिलियर्सले पनि बिस्फोटक पारी खेल्दै २८ रन जोडेका थिए । कोलकाताको तर्फबाट युसुफ पठानले २ विकेट, मोर्ने मोर्केल, सकिब अल हसन र केसी चारिअप्पाले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । उसका लागि कप्तान गौतम गम्भिरले ५८ रन, आन्द्रे रसेलले ४१ रन र रोविन उथप्पाले ३५ रन जोडेका थिए । बेङग्लोरका तर्फबाट हर्सल पटेल, वरून आरोन, अबु नेचिम, युच्भेन्द्र चाहलले समान १-१ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच क्रिस गेल घोषित भएका छन् ।

गेलले गयराती भएको खेलमा ९६ रन प्रहार गर्दै टी-२० मा ७ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।


  •  
  •  
  •