‘रासायनिक मल किन्दा वार्षिक १५ अर्ब बाहिरिँदै’

300
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (ओएनएस) :  देशभर वार्षिक झण्डै १५ अर्ब रुपैंयाँ बराबरको रासायनिक मल खपत हुने गरेको छ । वार्षिक ३ लाख मेट्रिकटन रासायनिक मल खपत हुने र अहिलेको बजारमुल्य अनुसार त्यसका लागि १५ अर्ब रुपैंयाँसम्म पर्ने कृषि विकास मन्त्रालयले जनाएको छ ।

रासायनिक मल खरिदका लागि सरकारले ३५ प्रतिशतसम्म अनुदानसमेत दिने गरेको कृषि सामाग्री व्यवस्थापन शाखाका प्रमुख भगवानप्रसाद खतिवडाले बताए । उनले भने, ‘वार्षिक रुपमा ३ लाख मेट्रिकटन रासायनिक मल खपत हुन्छ । लागत सहभागिताको आधारमा अर्थात ३० देखि ३५ प्रतिशत सरकारी अनुदानमा खरिद गर्दा झण्डै १५ अर्ब रुपैंयाँ पर्न जान्छ । पानी परेको, सिंचाईको अवस्था, बीउको अवस्था र किसानले गर्न चाहेको खेतीको आधारमा रासायनिक मलको बपतको दरमा केहि तलमाथि हुन सक्छ ।’

नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले मल खरिदका लागि भएको सबै रकम विदेशीने गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल खरिद बिक्री गरिरहेका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ देखि रासायनिक मलको खरिदमा अनुदान दिन थालेको हो ।

मल किन्दा परेको मुल्यमा सरकारले दिएको अनुदान घटाएर कृषि सामाग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङले प्रति मेट्रिकटन मुल्य निर्धारण गरेर किसानलाई बिक्री गर्ने गरेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६९/०७० मा २ लाख २१ हजार ८ सय १३ मेट्रिक टन मल खरिद गरेको थियो । त्यस वर्ष अनुदानको रकमसहित ११ अर्ब ४६ करोड रुपैंयाँ खर्च भएको आर्थिक महाशाखाका प्रवन्धक उर्मिला पोखरेलले जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीलाई सरकारबाट ५ अर्ब ५४ करोड रुपैंयाँ अनुदान प्राप्त भएको थियो । २ लाख २१ हजार ८ सय १३ मेट्रिकटन मल खरिद गर्दा त्यसवर्ष ११ अर्ब ४६ करोड रुपैंयाँ खर्च भएको थियो ।’ कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा एक लाख ८८ हजार ९ सय २५ मेट्रिक टन मल खरिद गरेको खरिद बिक्री महाशाखाका प्रवन्धक नारायण मरासिनीले बताए । उनले भने, ‘सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि रासायनिक मलको खरिद बिक्री गर्ने अधिकार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई पनि दियो । उसले पनि हरेक वर्ष ८५ हजार मेट्रिकटनसम्म रासायनिक मल बिक्री गर्छ । दुई वटा कम्पनी भएका कारण अनुदान रकम बाँडिएको हो ।’

अहिले कम्पनीसँग १९ हजार मेट्रिकटन युरिया, ३७ हजार मेट्रिकटन डीएपी र ७ हजार ५ सय मेट्रिकटन पोटास मौज्दात रहेको प्रवन्धक मरासिनीले बताए । उनले भने, ‘यस वर्ष २ लाख ७ हजार मेट्रिकटन रासायनिक मल खरिद भैसकेकोमा अरु बिक्री भैसकेको छ । दुई हप्तामा ३५ हजार मेट्रिकटन युरिया र असारसम्ममा थप ३५ हजार मेट्रिकटन युरिया आइपुग्छ ।’

रासायनिक मल किन्नका लागि ग्लोबल टेण्डर गर्नु पर्ने र त्यसका लागि ६ महिनासम्म लाग्ने कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री व्यवस्थापन शाखाका प्रमुख भगवानप्रसाद खतिवडाले बताए । उनले भने, ‘अहिले हामीले टेण्डर खोल्यौं भने सबै प्रक्रिया पुरा गरेर नेपालमा मल आइपुग्नका लागि भदौ असोजसम्म लाग्छ ।

यस आर्थिक वर्षमा टेण्डर प्रक्रिया सुरु भई अर्को आर्थिक वर्षमा आइपुग्ने मललाई अल्या भनेर अर्को वर्षमा वितरण गरिन्छ । सार्वजनिक खरिद नियमावलीको प्रक्रिया पुरा गर्दा र टाढाबाट मल ल्याउनु पर्दा समय लाग्ने गरेको छ ।’ देश भित्रिएको रनसनयनिक मल दुईवटा कम्पनीका ७० वटा बिक्री केन्द्रबाट किसानहरुसम्म पुर्याउने गरिएको छ ।


  •  
  •  
  •