प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीद्वारा स्टोक सिटी पराजित

194
  •  
  •  
  •  

काठमाडौं, ८ पुस (ओएनएस) : इङ्लिस प्रिमियर लिगमा लिग लिडर चेल्सीको अग्रता कायमै छ । सोमबार राति सम्पन्न खेलमा स्टोक सिटीलाई २–० पराजित गरेपछि चेल्सीले तीन अंकको अग्रता कायमै राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्टोकले सुरुमा गोल खायो । चेल्सीका लागि खेल सुरु भएको ९५औं सेकेन्डमा जोन टेरीले गोल गरे । उनले सेस फेब्रिगासको पासमा गोल गरेका हुन् । पछिल्लो १७ खेलमा फेब्रिगासको यो १२ औं गोल एसिस्ट हो ।

स्टोकले खेलमा फर्कने प्रयास गरिरहेका बेला ७८औं मिनेटमा फेब्रिगासले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे । खेलको अन्तिमतिर हजार्ड घाइते भए, जुन चेल्सीका लागि केही महँगो साबित हुन सक्छ ।

जितपछि चेल्सी १७ खेलबाट ४२ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अंक र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३२ अंक छ ।


  •  
  •  
  •