चेल्सी उपाधीबाट मात्र २ जीत टाढा

189
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख(एजेन्सी) : इङ्ग्लिस प्रिमियर लिगको लिग लिडर चेल्सीले उपाधी यात्रालाई थप सहज बनाएको छ । शनिबार राती सम्पन्न खेलमा बलियो प्रतिद्धन्दी म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी उपाधीको थप नजिक पुगेको हो ।

घरेलु मैदान स्टामफोर्डमा भएको खेलमा चेल्सीले बलियो टोली म्यानचेष्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको ३८ औ मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । म्यानचेष्टर युनाइटेडले दोस्रो हाफमा गोलको अवसर सिर्जना गरेपनि गोल गर्नबाट चुकेपछि खेल १-० मा नै सकिएको थियो ।

म्यानचेष्टर युनाइटेडका वायन रुनी र फल्काओले गोलको अवसर सिर्जना गरेपनि चेल्सीको डिफेन्सले असफल गरेपछि गोल गर्नबाट चुके र खेलमा पराजय बेहोर्न बाध्य भए ।

जितपछि चेल्सीले ३२ खेलबाट ७६ अंक बटुलेको छ भने म्यानचेष्टर युनाइटेडले ३३ खेलबाट ६५ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३२ खेलबाट ६६ अंक रहेको छ ।

जितपछि चेल्सी उपाधीको निकै नजिक पुगेको छ । लिगका ६ खेल खेल्न बाँकी रहेको चेल्सीले २ खेलमा विजय हासिल गर्न सके उपाधी जित्नेछ । चेल्सीले अबको खेल आर्सनलसँग खेल्नेछ ।

शनिबार राती सम्पन्न अन्य खेलमा वेष्ट ब्रोमविच अल्बियोनले क्रिस्टल प्यालेसलाई २-०, एभर्टनले बर्नलिलाई १-०, लेष्चर सिटीले स्वान्सी सिटीलाई २-०, स्टोक सिटीले साउथम्प्टनलाई २-१ गोलअन्तरले पराजित गरेका छन् ।


  •  
  •  
  •