सरकारी चिकित्सक थप सशक्त आन्दोलनमा

372
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : आन्दोलनरत सरकारी चिकित्सक संघले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाएको छ ।

फाइल तस्बिर

स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन रोकेर काममा नफर्किए प्रचलित कानून अनुसार कारबाही गर्ने चेतावनी दिइसकेको छ । मन्त्रालयकाे चेतावनीको वेवास्ता गर्दै सरकारी चिकित्सक संघले आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाइने बताएका छन् ।

संघका अध्यक्ष डा.दीपेन्द्र पाण्डे र महासचिव रविन खड्काले एक विज्ञप्तिमार्फत सामूहिक राजीनामा दिन आह्वान गरेका छन् ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘केही कतै सामूहिक राजीनामा दिन बाँकी रहेका चिकित्सकहरुले सामूहिक राजीनामा तत्काल यस संघको केन्द्रीय कार्यालयमा संकलन गर्ने वा अनलाइनमार्फत निवेदन दिन आह्वान गरिन्छ ।’

आह्वानअनुसार धमाधम राजीनामा पत्र संकलनको काम भइरहेको बताइएको छ । संघले समायोजन प्रक्रिया अन्यायपूर्ण रहेको दाबी गर्दै सम्पूर्ण चिकित्सकहरू एकजुट भई वार या पारको संघर्षमा होमिन समेत विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

संघले अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कारको कार्यक्रम जारी राख्दै आजदेखि कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिकोलेगल सेवा नदिने र बैठक, तालिम तथा गोष्ठीहरूमा समेत भाग नलिने संघको निर्णय रहेको छ ।
यस्तै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकले संविधान विपरित काम गरेको भन्दै राजीनामा माग गरे पछि चिकित्सक झनै आक्रोसित बनेका छन् ।

अध्यक्ष पाण्डेले भने मन्त्री पण्डितलाई चिकित्सकको राजीनामा माग्ने कुनै पनि अधिकार नभएको भन्दै स्वास्थ्य मन्त्रालयले मागेको खण्डमा भने आफूहरु एक सेकेण्ड पनि नरोकिने बताए ।
सरकारी चिकित्सकललाई संघ अन्तर्गत राख्नुपर्ने माग गर्दे चिकित्सकले चैत्र २२ गतेदेखि ओपीडी सेवा बन्द गरेका छन् ।


  •  
  •  
  •