‘काठमाडौंको छाउपडी’

121
  •  
  •  
  •  

छाउपडीले काठमाडौंका मान्छेलाई रन्थन्याउँछ । कसरी यसरी महिलाहरुलाई छाउपडीमा राख्न सकेका होलान् ? कति पिछडिएका त्यहाँका मानिस तर मैले यदि ‘काठमाडौंमा पनि छाउपडी छ ।

डा.अरुणा उप्रती

त्यसलाई हटाउन किन कोही बोल्दैनन’ भनेर भन्दा ‘सबैले कहाँ छ काठमाडौंमा छाउपडी भन्लान् ।’ ‘घर घरमा छाउपडी छ,’ म भन्छु । महिलाहरु महिनावारी हुँदा भान्छामा जान नदिनु, भिन्दै कोठामा सुत्नु, थाल पनि भिन्दै प्रयोग गर्नुको अर्थ के काठमाडौंमा मानसिक रुपमा ‘छाउपडी’ छ भन्ने देखाउँदैन र ?

अछाममा मस्टो रिसाउँछन्, छाउ भएकी महिलाले छोए भन्ने अन्धविश्वास र काठमाडौंमा महिनावारी भएकी महिलाले पूजा घर जानुहुँदैन, प्रसाद खानु हुँदैन भन्ने विचार एकै प्रकारको होइन र ? महिनावारी हुँदा महिलाको शरीर अपवित्र हुन्छ भन्ने मानसिकता दुबैले बोकेका हुन्छन् । त्यसैले काठमाडौंका महिला र पुरुषले अझै सुदूर पश्चिमको ‘छाउपडी’ भन्नु भन्दा ‘उफ काठमाडौंमा पनि छाउपडी रहेछ । यसलाई हटाउनु प¥यो भन्ने हो कि ?

छाउको बारेमा नजान्दै मैले १२ वर्षको उमेरमा ‘छाउपडी’ विरुद्ध क्रान्ति नै गरेकी थिएँ भन्ने अहिले भान भइरहेछ । दशैंको बेलामा पहिलो पल्ट मेरो महिनावारी भयो । घरमा भन्यो भने त कोठामा थुनि दिन्छन् र दशैँको दक्षिणा, नयाँ लुगा, मीठो खाना, केही पनि पाउँदिन भन्ने लोभले मैले कसैलाई केही भनिन ।

दशैँ मनाए, नयाँ लुगा लगाए पशुपतिमा गए । केही समस्या भएन, कसैले पनि थाहा पाएन । त्यसपछि ३ वर्षसम्म मैले महिनावारी हुँदा कसैलाई भनिन । दश कक्षामा एस.एल.सी को बेलामा महिनावारी हुँदा आमालाई भने, तर जाँच छोडाउने कुरा भएन, त्यसपछि त जिन्दगीमा मैले कहिले महिनावारी बारिन । मलाई कहिले अपराध बोध भएन ।

काठमाडौंमा ‘महिनावारी’ मानसिकताले अझै यती धेरै जरो गाडेको छ, कि धेरै महिलाहरु ‘महिनावारी अपवित्र’ होइन भन्ने जान्दा जान्दै पनि भान्छामा गए केही भइहाल्छ कि, प्रसाद खाए बिरामी परिन्छ कि, मन्दिर गए देवता रिसाउँछन् कि भनेर भयभित हुन्छन् ।

छोरीहरुलाई, नातिनीहरुलाई पनि यही भय सारिदिन्छन् । तर ठमिला स्याङवो, उर्मिला तामाङ नामका केही युवतीहरुले चाँही मलाई भनेका थिए ‘हामी कहाँ त बाहुन क्षेत्री कहाँ जस्तो बार्ने चलन छैन । गुम्वा (मन्दिर) पनि जान्छौ, पूजा आजामा पनि भाग लिन्छौ ।’ जनजातीहरुले पूजा गर्दा, मन्दिर जाँदा केही नहुने तर बाहुन क्षेत्रीहरुले मन्दिर जाँदा चाँही देवता रिसाउने त हुनुनपर्ने हो । कतै हाम्रो गलत मानसिकताको कारणले त हामीहरु काठमाडौंमा ‘महिनावारी’ लाई अपवित्र भनिरहेका छैनौं भनेर सोच्ने बेला आयो कि ?

जोशी थरका विदेशमा उच्च शिक्षा हासिल गरेका ४४ वर्षिय पुरुष त ‘महिनावारी हुँदा छुनु हुँदैन’ भन्ने मानसिकताले यति प्रभावित छन् कि विदेशमा पनि श्रीमति महिनावारी हुँदा उनी भान्छा चाँही छुन दिँदैन थिए रे । विदेशमा पढ्दा त सानो कोठा र सानो भान्छा भाडामा लिएर बसिएको हुन्छ । जोशीले चाँही महिनावारी हुँदा श्रीमतिले भान्छा छोए ‘मैले त भात नै खानु हुँदैन भन्ने गर्थे रे ।’ विदेशबाट उच्च अध्ययन गरेर, एउटा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत जोशी अहिले पनि श्रीमतिलाई महिनावारी बार्न लगाउँछन् । उच्च शिक्षा हासिल गरेकी उनकी श्रीमति पनि ‘आ दुई तीन दिन भान्छामा नपसेर मलाई के भयो र ?’ भनेर भान्छामा जाँदिनन् । के सुदूर पश्चिमको छाउपडी प्रथा नै होइनत यो ?

सुदूर पश्चिममा ‘छाउ’ हुँदा महिलाहरुले मन्दिरमा नजाने मात्र होइन कि मन्दिर जाने बाटो पनि छुनुहुन्न भनेर, गोरेटो नै भिन्दै बनाइदिएका छन रे । ‘धन्य काठमाडौंमा महिनावारी हुने महिलाको लागि भिन्दै बाटो बनाउनु परेको छैन । नत्र भने यहाँ पनि महिनावारी हुँदा छाउ बाटोमा हामीले हिँड्नु पथ्र्यो । छाउको बारेमा छलफल गर्दा ४२ वर्षिया उमाले भन्दा हामी हाँस्यौ ।’

छाउगोठ, छाउपडी आदिको मानसिकता बोकेर सुदूर पश्चिमका मानिसहरु अमेरिकासम्म पुग्दा होलान त भन्ने प्रश्नले मलाई घोची रह्यो । मैले सुदूर पश्चिमका केही आफ्ना नाता गोतालाई सोधे पनि ‘आफ्नो गाउँमा छाउगोठ बनाएर महिलाहरुलाई महिनावारी र सुत्केरी हुँदा त्यहाँ राख्नुहुन्छ र तर अमेरिका जानु भयो भने के गर्नु हुन्छ ?’

‘हामी अमेरिका जाँदा छाउगोठ त बनाउन सक्दैनौ , तर सुन पानी छर्केर महिलालाई ४ दिनमा शुद्ध बनाउँछौ । त्यहाँ भान्छा पनि एउटै कोठामा हुन्छ । के गर्ने परिस्थितीले त्यस्तो गरेको हो । नेपाल आएपछि त फेरी ‘छाउ’ बारिहाल्छौ नि’। यस्तो भनाइको अर्थ यो हो कि, महिलाहरुको महिनावारी अशुद्ध नै हो । अर्थात छाउपडीको मानसिकता लिएर सुदूर पश्चिमका मानिसहरु काठमाडौं आउँछन्, अमेरिका, जर्मनी पनि पुग्छन् तर जति पढेलेखे पनि महिलालाई अपमान गर्न छोड्दैनन् । काठमाडौंका मानिसहरु पनि त्यसै गरी छाउपडी को दर्शनबाट प्रभावित छन् ।

यद्धपि कति महिलाले चाँही मलाई भनेका पनि छन् ‘हाम्रा सासु ससुराको लागि हामी महिनावारी बारेको जस्ता गर्छौ । कुनै कुनै महिनामा त वास्ता नै नगरेर भात पनि पकाउँछौ, पुजा पाठमा पनि भाग लिन्छौ । खोई अहिले सम्म केही नराम्रो भएको छैन । हामीलाई थाहा छ कि महिनावारी बार्नुपर्ने भान्छामा जान नहुने आदि कुरा फजुल हुन् । तर घरका बुढाबुढीको मन शान्त पारिदिन कहिले कहिले त आफूले नचाहेको कुरा पनि गर्नुपर्ने रहेछ ।’

यस्ता महिलाहरुको कुरा सुनेर लाग्यो कमसेकम उनीहरुले महिनावारीलाई पाप चाँही मान्दा रहेनछन् । तर ‘मेरी आमाले त हरेक ४ दिन काठमाडौंका महिनावारीलाई अशुद्ध मानेर भिन्दै बस्ने चलन हुन्छ ।’ काठमाडौंमा सरकारी अस्पतालमा काम गर्ने नर्सले भनेकी थिइन ।

त्यसैले काठमाडौंका महिला, पुरुष र अधिकारकर्मीहरु पहिले आफू नै ‘छाउपडी’ को मानसिकताबाट मुक्त हुने होइन ? मन्दिरमा नजाने महिलाहरु एक चोटी विचार गर्नुस है कतै तपाईले आफ्नै शरीरलाई त अपमान गरिरहनु भएको छैन
आफैलाई काठमाडौंमा बसेर अपमान गर्नु अनि सुदुर पश्चिममा छाउगोठमा महिलाहरुले दुःख पाए भनेर किन बिलौना गर्नु ?
डा.अरुणा उप्रेतीको फेसवुकबाट


  •  
  •  
  •