छाउपडी: मेरो विचार

105
  •  
  •  
  •  

म मेरै घरको उदाहरण दिन चाहन्छु । करीब १२ वर्षको उमेरको मेरो छोरीको पिरियड हुँदाको कुरा हो । छोरीलाई उनकी आमाले कम्तिमा ५ दिन बाबा सँगसँगै डाइनिङ टेबलमा बसेर खान नमिल्ने नियम घोषणा गरिन् ।

७ कक्षामा पढ्ने छोरीले सो कुरा नमान्ने भन्दै त्यसको कारण माग गरिन् । आमाले सनातनी प्रचलन भएको र भगवानको लागि आदि भनेर सम्झाइन् । तर छोरीले तत्कालै विद्रोहको स्वरमा सो मान्दिन भन्दै प्रतिवादै गरिन् । अलग्गै स्टुलमा राखेको खाना लिएर म सँगै टेबलमा आइन् ।

छोरीले तर्क नगर्दासम्म त म पनि ठिकै छ नि भन्नेमा थिएँ । तर मलाई गर्व महसुस भयो छोरीको तर्क शक्ति र कारण माग सुनेर । ७ कक्षाको छोरीको त्यो चेत तर हामी एम ए पासको ?

मैले तत्काल छोरीलाई हग गरे । सँगै टेबलमा राखे । बाबा छोरीले सँगै खाना खायौं । त्यतिबेला श्रीमतिको नाक खुम्चियो । भने कि यो बाल मानसपटलमा अहिले यसरी छुवाछुत सिकाउने हो भने छोरीको बालसुलभ दिमागको सकारात्मक विकासमा प्रतिकूल असर पर्दछ । ठिक छ पिरियडको बेलामा स्वस्थ सफा रहने आराम गर्ने वातावरण बनाउँ तर छुवाछुत नभित्र्याउँ ।

यो हो भने त एक प्रकारको छाउपडी नै भयो नि भन्ने निस्कर्षमा हामी सहमत भयौँ ।

त्यो दिनबाट हाम्रो घरमा यस्तो प्रचलन नै हट्यो । तर अझै पनि ठिक बेठिक के गरियो भनेर यदाकदा छलफल हुन्छ । किनभने बुढी आमा पनि हामीसँग हुनुहुन्छ । वहाँको मन पनि दुःखाउन नहुने परिस्थिति छ ।

यस उदाहरणले धेरै परिवारको अवस्था प्रतिनिधित्व गर्छ होला । हामी जत्तिको एमए पासले पनि कम्तिमा यति अन्धविश्वासी हुनु भनेको यो समाजलाई अझै पछाडि धकेल्नु हो ।

महिला तथा बालबालिकाको मानव अधिकारलाई हामी कथित बुझक्कडहरुले नै किन संवेदनशील भएर सोच्न सकेनौं ? भावी पुस्तालाई हामी के सिकाइरहेका छौं ? भनेपछि यसबाट हामी कथित शिक्षितको मनमा अझै केही कस बाँकी हुनुपर्दछ ।

गाउँघरमा छाउगोठमा छुट्टै राख्नु र शहरियाले घरमै छुवाछुत बार्नुमा म कुनै अन्तर देख्दिन । अन्तर त सोचको मात्र हो ।

महिलामा मासिक श्राव हुनु जैविक नियम मात्र हो । सो बाहेक अरु छुत अछुत वा देउता रिसाउने आदि केही होइन । तर नेपाली समाजमा यस अन्धविश्वासी सोचले यति जरो गाडेको छ कि हामी कथित शिक्षित भनाउँदा एम ए पासले पनि अशिक्षित पुर्खाले धान्दै आएको बिंडो थामि रहेकै छौं । अर्थात पश्चिम नेपालका दुर्गम गाउँमा छाउगोठ बनाएर र काठमाडौंका परिवारमा घरमै छोइछिटो बारेर ।

पुर्खाहरुले किन छोईछिटो बारे होलान् ? उनीहरुको जीवन पूर्णतः श्रममा आश्रित थियो । यस्तो बेलामा कडा परिश्रम गर्दा स्वास्थ्य बिग्रिन्छ । त्यसैले आरामको जरुरत पर्दछ। आराम गर्न एकान्त चाहिन्छ । त्यसैले छुट्टै बस्न बेस हुन्छ भन्ने सोच वैज्ञानिक नै थियो । तर प्रचलनलाई भ्रमित पार्दै दाजुभाइले देख्न नहुने, कसैसँग छुन नहुने नियम बसाइएको हुनुपर्दछ ।

एउटा जिज्ञासा उठ्छ यहाँनेर । संसारका आ–आफ्नै हरेक धर्म र संस्कृति छन् । मासिक धर्म महिला जातिमा हुने यो अनिवार्य प्राकृतिक नियम नै हो । तर के अमेरिका वा अफ्रिकाको कुनै महिलाले यस्तो छुवाछुतको चलन गरेका होलान् त ? के देउता रिसाउने भए उनका आस्थाका भगवान छैनन् र ? त्यसकारण यो चलन हाम्रो समाजको कुरीति र कुसंस्कार हो ।
अब भनौं के पश्चिम नेपालमा संपूर्ण छाउगोठ भत्काउँदैमा कर्णालीक्षेत्र छाउपडी प्रथा मुक्त भयो भन्न मिल्ला र ? हालै लिएको अभियान पछि छाउगोठ त भत्किए तर देखिंदै छ स्याउलाले बारेका गोठ बनिरहेका छन् । अब त झन् चुनौति थपियो । कम्तिमा पहिलेका गोठ अलि सुरक्षित त थिए । समाजको सोच र प्रभाव अनुसन्धान नगरी कदम चाल्दा राम्रो उद्देश्य भएपनि सफल हुन सकिन्न भनेको यही हो ।

काठमाडौंमा हामी एमए पासको हालत त यो छ ? साँच्चै भन्ने हो भने काठमाडौंका आधुनिक, शिक्षित, उच्च पदस्थ, सभ्य र पढालेखा एवम अगुवा नेतृत्वमा रहेका कति परिवारमा सुधारिएको छाउपडी प्रथा कुन अवस्थामा छ ? पहाड वा तराइमा के अवस्था छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गर्न र त्यसैका आधारमा योजना बनाउन जरुरी छ ।

छाउगोठको भौतिक संरचना भत्काएर मात्र शदिऔं देखिको अन्धविश्वासको पर्खाल ढल्दैन । यसका लागि त शिक्षा र चेतनाको ज्योति फैलाउनु आवश्यक छ । त्यो ज्योति योजनाबद्ध रुपमा अगाडि बढाउँ । राज्यले अलिकति लगानी गरोस् । स्थानीय सरकारहरुले प्राथमिकतामा राखेर घर घरमा चेतना पु¥याउँ ।

बरु मौकैमा यसै विषयसँग जोडेर जाँड रक्सी बन्द गरौं । घरेलु हिंसाको स्थिति नियन्त्रण गरौं । बाल विवाह रोकौं । चेलीबेटी बेचबिखन हुनबाट बचाउँ । लागू औषधमा युवाहरुलाई फस्न नदिउँ । जातजाति बिच गरिने भेदभावको विरूद्धमा अभियान चलाऔं । देशैभर प्याकेजमा कार्यक्रम लैजाउँ । सभ्य नागरिक समाज निर्माण गर्ने अर्को एउटा नवीन अभियान थालनी गरौं ।

(कुँवर उच्च अदालत पाटनका न्यायाधिश हुन् ।)


  •  
  •  
  •