चट्याङ लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते

480
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

यस्तै चट्याङ लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ ।

विद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।जसबाट एकलाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै सामुदायिक स्वास्थ्य चौकीको १ तले २ कोठे भवनको जस्ता पाता उडाएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गढवा गाउँपालिका १ कटबेरवा बस्ने गीता सार्कीको कच्ची घर भत्किदा एक लाख ७५ हजार, सोही ठाउँकी चन्द्रकला बिसीको कच्ची घरको देवाल भत्किँदा एकलाख, सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाउँदा २५ हजारबराबरको क्षति भएको उनले बताए ।

यस्तै नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् ।  भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते निशालाई उपचारको लागि भारत पठाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •