किन अग्ला ठाउँमा बढी पर्छ चट्याङ ? यस्ताे छ कारण, यसरी बच्न सकिन्छ!

1012
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : मानिसको ज्यानै जानेगरी आखिर धेरैजसाे अग्लै ठाउँमा चट्याङ किन पर्छ ? यस विषयका जानकारहरुका अनुसार बादलको घर्षणले उत्पन्न भएको त्यो चार्ज (चट्याङ) जमिनकाे अग्लो ठाउँलार्इ बढी अाकर्षित गर्ने भएकाेले साेही ठाउँबाट जमिन मुनि जान खाेज्छ।

विराटनगरका भौतिकशास्त्रका प्रोफेसर देवेन्द्र अधिकारीका अनुसार बादलबादलबीच घर्षणले आकाशमा एक प्रकारको इलेक्ट्रिक चार्ज पैदा हुन्छ। त्यो चार्ज तल्लो क्षेत्र (जमिन)मा जान संघर्ष गर्छ। ‘बादलको घर्षणले उत्पन्न भएको त्यो चार्ज अग्लो ठाउँबाट तल आउन खोज्छ,’ अधिकारीले भने, ‘त्यसैले चट्याङले माथिल्लो क्षेत्रमा बढी नोक्सानी पुर्‍याउँछ। उनका अनुसार चट्याङमा हजारौं गुणा बढी करेन्टको प्रवाह हुन्छ।

विज्ञानशास्त्रका जानकार रामचन्द्र अधिकारीका अनुसार एकपटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ। जसले ३० हजार डिग्री सेन्टीग्रेटसम्म तापक्रम फाल्छ। जुन तापक्रम सूर्यको भन्दा बढी हुन्छ। कुमोलो निम्बस नामको बादलबाट उत्पन्न हुने चट्याङ भने जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति पुर्‍याउँछ।

‘चट्याङ जमिनतिर आउन अग्ला घर र रूख नै रोज्छ,’ विज्ञानका प्रोफेसर अधिकारीले भने, ‘अग्लो घरमा लाइटिङ रड छ भने त्योमार्फत् चट्याङ सजिलै जमिनमुनि जान्छ, छैन भन्ने जमिनमुनि जान ठूलो संघर्ष गर्छ, त्यति बेला नै हो जनधनको क्षति पुर्‍याउने।’

उनका अनुसार चट्याङ जमिनमुनि जान संघर्ष गर्दा सर्ट सर्किट हुने, विस्फोट हुने गर्छ। ‘गड्याङगुडुङ गरेका बेला अग्ला भवन र रुखमुनि नबसेकै जाति हुन्छ,’ उनले चट्याङबाट बच्ने उपाय सुनाए, ‘हामीले चट्याङको आवाज मात्रै सुन्ने हो, तर आवाज आउनुअघि नै चट्याङले असर गरिसकेको हुन्छ।’

आकाशमा बादलको गतिविधि बढी भएपछि चट्याङ पैदा हुन्छ। अधिकारीका अनुसार मानिसलाई चट्याङले हिर्काउँदा करेन्ट लागेजस्तै हुन्छ। ‘मानिसको शरीरबाट बिजुली पास हुन खोज्छ,’ उनले भने, ‘शरीरलाई जलाउँदै जमिनमुनि पस्छ।’ फिजिक्स जानकारका अनुसार चट्याङबाट बच्न सावधानी बाहेक अरु केही गर्न सकिन्न। घरमा लाइटिङ रड जडान गर्ने, बिजुलीको अर्थिङ राम्रो गर्ने र चट्याङ परेका बेला अग्ला रुखको नजिक नबस्दा चट्याङबाट हुने जनधनको क्षतिबाट जोगिन सकिने अधिकारी बताउँछन्।

घरको अर्थिङले बाहिरबाट आउने करेन्टलाई फाल्दिन्छ। अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ जसले चट्याङलाई जमिनमुनि सजिलै पठाइदिन्छ। बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन। घरमा जडान गरिएको बिजुलीको सर्किट जाँच गरिरहनुपर्छ। सर्किट लिक हुँदा पनि चट्याङले हिर्काउँछ।


  •  
  •  
  •