काठमाडौं २६ कात्तिक ।
डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा मारिएको तीन महिना पुगेपनि घटना चर्चा अझै सेलाएको छैन। तर चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँ–नयाँ तथ्य फेला पर्दै गएको छ। अनुसन्धानको क्रममा चरीको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर एक हाइड्रो पावर कम्पनीमा भेटिएको छ। तर अर्काको नाममा भएकाले उक्त शेयर हडप्नका लागि यतिबेला कम्पनीभित्रै विवाद चुलिएको छ।
स्रोतका अनुसार धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर थियो। तर सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन्। स्रोतका अनुसार चरीले उक्त शेयर चार्टड एकाउन्टेन्ट विश्वनाथ कँडेलको नाममा राखेका थिए। अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरूबीच विवाद भएको छ। स्रोतका अनुुसार उक्त शेयरवापत चरीले कँडेलसँग लेनदेनका विभिन्न सम्झौता गरेका थिए।
उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरूले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए। त्यसैवापत उनले उक्त शेयर लिएको स्रोतको भनाइ छ। महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए।
चरीको मृत्युपछि चार्टड एकाउन्टेण्ड कँडेलले नै उक्त शेयर हात पार्ने दाउमा लागेका छन्। त्यसमा एमाले नेता पाण्डेले पनि चासो देखाइरहेको स्रोत बताउँछ। गत साउन २३ गते चरीको भिमढुंगामा प्रहरीसँगको मुठभेडमा मृत्यु भएको थियो। चरी हत्याकाण्डमा बद्नाम भएपछि गुमनाम भएर बेलायत भासिएकी मोडल खुश्वु ओली त्यहाँ पनि टिक्न नसकेपछि नेपाल फर्किने भएकी छिन्। आफ्नो प्रेमका कारण चरीलाई प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएकोमा प्रहरीले उनीमाथि छानबिन थालेपछि बेलायत भासिएकी थिइन्। भदौको पहिलो साता उता भागेकोमा उनी यही साता नेपाल फर्कने तयारीमा रहेको स्रोत बताउँछ।
पैसाको अभाव र राम्रो जागिर पाउन नसकेपछि उनी फर्कन लागेकी हुन्। पीएचडी गर्न भन्दै उनी बेलायतमा बसेकी थिइन्।
दृष्टि सप्ताहिकबाट