चरी र खुश्बुले मेरो आठ वर्ष लामो माया लुटे: अर्पण कोइराला

86
  •  
  •  
  •  

 

चरीको इन्काउन्टरसँगै चर्चामा आएका अर्पण कोइराला नेपालमा छैनन्, भारतको एयरटेल नम्बरमा सम्पर्कमा आएका उनले त्रिकोणात्मक प्रेमसम्बन्धबारे कुरा गरे :

तपाईंले दिनेश अधिकारी चरीलाई मार्छु भनेर धम्की दिनुभएको थियो, यता चरी मारिए, तपाईं नेपालको फोन नम्बर पनि अफ छ । भारतीय नम्बरमा मात्र सम्पर्क भयो । यो संयोगमात्र हो कि योजनाबद्ध ?
योजनाबद्ध होइन । मेरो ममीड्याडीलाई लिएर डेढ महिनाअघि नै इन्डिया आएको हुँ । ममलाई थाइराइडको समस्या छ । ड्याडी पनि बिरामी हुनुहुन्छ । गुडगाउँको मेदान्त अस्पतालमा उहाँहरूको चेकअप भएको थियो । फलोअपका लागि आएका हौँ । सेप्टेम्बरको अन्तिमसम्म यतै बस्छौँ । तबमात्र नेपाल फर्कने योजना छ । चरीको इन्काउन्टर र ममीड्याडीको उपचारमा कुनै सम्बन्ध छैन ।

चरी इन्काउन्टरमा मारिए भन्ने समाचार तपाईंले कसरी सुन्नुभयो ? आफैँले मार्छु भनेको मान्छेलाई पुलिसले मार्दा कस्तो लाग्यो ?
चरीसँग मेरो झगडा भएको हो । उसले पनि मलाई मार्छु भनेको थियो । मैले पनि भनेको थिएँ । त्यो एउटा झगडाको वेला थियो, रिसमा बोलेको कुरा व्यवहारमा उतार्न को हिँड्छ ? कसले सक्छ ? म ढाँट्न सक्दिनँ, म दिनेशलाई प्रहरीले पक्राउ गरोस्, कानुनी कारबाही गरोस् र जेलमा राखोस् भन्ने चाहन्थेँ । तर, तर अकालमै उसको यसरी ज्यान जाओस् भन्ने चाहेको थिइनँ । तर, मैले चाहनु अथवा नचाहनुको अर्थ के छ र ? म दिल्लीमै थिएँ, एकजना साथीले ‘माइरिपब्लिका डटकम हेर त चरीको इन्काउन्टर भएछ’ भन्यो । मैले समाचार हेरेँ । एकैछिनमा अनलाइनमा त्यो समाचार आयो । पछि तस्बिर पनि आयो । चरी एउटा गलत बाटोमा लागेको व्यक्ति हो तर त्यसको अन्त्य यसरी होला भन्ने मलाई लागेको थिएन ।

तर तपाईंले सेतो सारी लगाउनुपर्ला भनेर चरीकी प्रेमिका खुश्बुलाई धम्क्याउनुभएको इमेल त सार्वजनिक भएको छ नि, किन त्यस्तो धम्की दिनुभयो ?
कतिपय इमेल त उहाँ आफैँले पनि बनाउनुभएको छ । कतिपय अवस्थामा मैले गाली गरेको पनि हो । किनकि चरी र खुश्बुले मेरो आठ वर्ष लामो माया लुटे, मेरो सपना लुटे । म त्यतिवेला विक्षिप्त भएको थिएँ । म बिरामी नै परेँ, तर जीवन यस्तै हो, चल्दै जान्छ भनेर मैले आफूलाई सम्झाएको छु । अब मैले गुमाएको माया पाउनु छैन । अगाडि बढ्नु छ । अगाडि बढ्न चरीको जस्तो बाटो अपनाउनुपर्छ भन्ने मलाई लाग्दैन । मेरो त्यो हैसियत पनि छैन ।

 खुश्बुसँग तपाईंको माया कसरी बस्यो ?
आठ वर्षअघि म भर्खर लागुऔषध पुनस्र्थापना केन्द्रमा उपचार गराएर निस्किएको थिएँ । सुधारगृहभित्र मेरो स्वभाव र सुधार देखेर नार्कोनन्ले मलाई सचेतना अभियानमा खटाउन थालेको थियो । म वास्तवमा नार्कोनन्को स्टाफको रूपमा काम गर्न थालेको थिएँ । त्यही वेला राष्ट्रिय सभागृहको कार्यक्रममा खुश्बुसँग भेट भयो । हामीले एक–अर्काका फोन नम्बर लियौँ । पटक–पटक भेट्यौँ । उहाँले दुव्र्यसनीलाई सुधार गर्ने अभियानमा लाग्न चाहेको बताउनुभयो । यस्तै अरू केही कार्यक्रममा हाम्रो भेट भयो र सम्बन्ध
बढ्दै गयो ।

तपाईंले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा पुर्‍याएको र लाखौँ खर्च गरेर पढाएको पनि भन्नुभएको छ । विवाहअघि नै एउटी युवतीका लागि यति धेरै खर्च किन गर्नुभयो ?
उहाँ निकै ‘ट्यालेन्टेड’ हुनुहुन्थ्यो । म प्रभावित भएँ । मैले राखेको प्रेमप्रस्ताव उहाँले स्विकार पनि गर्नुभयो । त्यसपछि मेरा सुखका दिन सुरु भएजस्तो लाग्यो । आफूलाई निकै भाग्यमानी ठानेँ । उहाँ नै मेरो सबथोक हो भन्ने लाग्यो । उहाँको खुसीका अगाडि मैले आफूलाई अर्पण गरेँ । खुश्बु मेरो घरमा आउने र म उनको घरमा जाने भन्ने सामान्य थियो । दुवै परिवारले एक–अर्कालाई स्विकारिसकेका थिए । खुश्बु मेरो भविष्य हुन् भन्नेबाहेक मलाई केही थाहा थिएन । आफ्नो भविष्यका लागि खर्च गर्नु सबैले कर्तव्य सम्झन्छन्, मैले पनि सम्झेँ ।

खासमा तपाईंले सहयोग गरेको भन्दा पनि दुव्र्यसनको लतबाट खुश्बुले तपाईंलाई उद्धार गरेको प्रसंग पनि आएको छ । सहयोग त आदान–प्रदान भएकै रहेछ नि ?
सम्बन्धमा सहयोग आदान–प्रदान भयो । तर, मलाई दुव्र्यसनबाट उद्धार गर्नुभयो भन्ने उहाँको भनाइ झूटो हो । २००६ मा खुश्बुलाई भेट्दा म दुव्र्यसनी होइन दुव्र्यसनविरुद्ध अरूलाई सचेत बनाउने सामाजिक कार्यकर्ता थिएँ । उहाँ र म नजिकिएपछि पनि केही कार्यक्रम गर्‍यौँ । कीर्तिपुरको डाँडोमा गाँजाखेती हामीले मिलेर फाँडेका हौँ । केही स्कुलमा सँगै गएर प्रेजेन्टेसन पनि दिएका छौँ । यसरी सँगै काम गर्दा हामी झन् नजिकिएका हौँ ।

अनि चरीसँग तपाईंको सम्बन्ध कसरी भयो ?
म साथीभाइलाई भेट्न अन्नपूर्ण होटलमा गइरहन्थेँ । चरी पनि त्यहाँ आइरहन्थ्यो । ऊ डन हो भन्ने मलाई थाहा थियो । तर एक दिन चिनजान गर्दा निकै भलाद्मी लाग्यो । म छक्क परेँ । खुंखार गुन्डा भनेर चिनिएको मान्छे पनि यति भलाद्मी हुन्छ भनेर थाहा पाउँदा मलाई राम्रै लाग्यो । त्यसैले हामी साथीका रूपमा नजिकियौँ । ऊ मलाई निकै आदर गथ्र्यो । मैले पनि सकेको आर्थिक सहयोग गर्दै गएँ । ऊ भन्थ्यो दाइ भगवान् देखेको त छैन तर तपाईंजस्तै हुन्छन् होला । एक–अर्काको घरमा जाने, पार्टी गर्ने, रमाइलो गर्ने बानीले हामी झन् नजिक भयौँ । त्यो बीचमा उसलाई पैसा चाहिएका वेलामा मैले सकिनसकी दिएँ । उसले ८५ लाखमा भक्सवागन गाडी किन्न खोज्यो, तर माछापुच्छ्रे बैंकले ३५ लाख रुपैयाँ डाउन पेमेन्ट मागेको थियो । त्यो ३५ लाख नै मैले दिएको हो । उसले भैँसेपाटीमा घर बनाउन थाल्यो । तर खासै पैसा थिएन । ठेकेदारलाई मैले आफैँ भेटेर काम कुनै हालतमा नरोक्नू, पैसा चाहिएको वेला मलाई भन्नू भनेको थिएँ । मैले कहिले लाख, कहिले ५० हजार पनि पैसा दिएर घरको काम अघि बढाइदिएँ । एउटा असल साथीका लागि यति गर्न पाउँदा म खुसी नै थिएँ । तर त्यति दु:खले बनाएको घर चरीले भोग्न पाएन । खुश्बुलाई दिन उसले प्रहरी अधिकृत माधव थापासँग ऋण लिएको थियो । त्यही पैसा तिर्न उसले थापालाई घर बुझाएको छ भन्ने सुनेको छु । सत्य के हो, खुल्दै जाला ।

तपाईं खुश्बुजस्ती गर्लफ्रेन्ड पाएर खुसी नै हुनुहुन्थ्यो, दु:ख कहाँबाट सुरु भयो ?
एक दिन मैले खुश्बुलाई लिएर अन्नपूर्ण होटलमा गएको थिएँ । चरी र मेरो हिमचिम निकै बाक्लो थियो । त्यसैले दुईजनाको परिचय गराइदिएँ । चरीले भाउजू नमस्ते भन्यो । खुबै रेस्पेक्ट पनि गर्‍यो । एक दिन खुश्बुको घरमा पनि दिनेशलाई लिएर गएँ । उसलाई देखेर खुश्बुका बुबाआमा, दाजुभाउजू सबै दंग पर्नुभयो । तर देवरभाउजू भन्ने चरी र खुश्बुको सम्बन्ध बढेछ । मैले लामो समयसम्म पत्तै पाइनँ ।

 पहिलोपटक कसरी थाहा  पाउनुभयो ?
धेरै पुरानो कुरा पनि होइन । ६ महिनाअघि म कामको सिलसिलामा दिल्लीमा थिएँ । खुश्बु र मेरो बीचमा असाध्यै राम्रो समझदारी थियो । हामी एक–अर्काका फेसबुक चलाउँथ्यौँ । एकदिन उहाँले अस्ट्रेलियाको एकजना साथीसँग च्याट गर्नुभएको रहेछ । त्यसमा लेखिएको थियो What a waste of time it was, I was having relation with such a dumb person for 8  long years. But now I am in love with Dinesh Adhikari Chari. He is so romantic and our love is on the air. यो संवाद देखेर म छाँगाबाट खसेजस्तो भएँ । त्यो वेला मैले आँखा देखिनँ । यो संसारमा विश्वास भन्ने चिज केही नै हुँदो रहेनछ भन्ने लाग्यो । खुश्बुलाई जथाभावी गाली गरेँ ।

 तपाईंलाई छोडेर खुश्बु किन चरीतिर लागिन् ? तपाईंले गाली गर्दा केही त भनिन् होला ?
आठ वर्षमा मैले खुश्बुलाई गाली गरेको त्यो नै पहिलो र अन्तिमपटक थियो । तँसँग मैले धेरै दु:ख पाएँ । चरीसँग खुसी छु भनेर झन् ठूलो स्वरले कराउनुभयो । म छक्क परेँ । मसँग खुसी हुनुहुन्थेन भने रामै्र तरिकाले घोषणा गरेर चरीसँग जान सक्नुहुन्थ्यो । तर मलाई विश्वासघात गर्न जरुरी थिएन, मैले आक्रोश पोखेँ । मैले गाली गरेको कुरा उहाँले चरीलाई पनि भन्नुभएछ । चरीले मलाई फोन गर्‍यो । उसले मलाई मार्छु भन्यो । मैले पनि तँलाई मार्छु भनेँ । हामीबीच निकै नराम्रो भनाभन भयो । त्यसपछि दुवैजनासँग मेरो सम्बन्ध समाप्त भयो । खुश्बुको व्यवहारले मभन्दा बढी मेरा बुबाआमा दु:खी हुनुभयो । जसलाई उहाँले आठ वर्षसम्म बुहारी मान्नुभयो । मलाईभन्दा बढी विश्वास गर्नुभयो, उसैले यति ठूलो विश्वासघात गरी र अहिले यति ठूलो आरोप लगाइरहेकी छ भन्दा उहाँहरूले विश्वास गर्न सक्नुभएको छैन ।

तर, तपाईं यौन व्यवसायी महिलाहरूसँग घरमा बसेका वेला खुश्बु आइन् र रंगेहात फेला पारेपछि तपाईंहरूको सम्बन्ध बिग्रिएको हो भनेर उनले भनेकी छिन् नि ?
त्यो सबै चरीको योजनामा भएको थियो । चरीले नै एक दिन मेरा साथीहरू छन्, जमघट गरौँ भनेर प्रस्ताव गरेपछि मैले नारायणथानको घरमा पार्टी राखेको थिएँ । केही महिला साथी मेरो घरमा पठाएर उसले खुश्बुलाई फोन गरेछ । भाउजू दाइ त साह्रै बिग्रिनुभयो, हेर्न जानुस् भनेछ । एसपी भोगबहादुर थापा र खुश्बु छिमेकी हुन् । त्यसैले थापाकी श्रीमतीलाई समेत लिएर अचानक खुश्बु मेरो घरमा आउनुभयो । उहाँ एक्कासि कराउन थाल्नुभयो । त्यहाँ एकछिन नाटक नै भयो । म पनि नर्भस भएँ । तर, खुश्बुलाई सम्झाउनु मेरो कर्तव्य थियो । त्यसैले यहाँ हल्ला नगरौँ बेइज्जत हुन्छ भनेर फकाउँदै उनलाई गाडीमा राखेर अन्तै लगेँ । तर यो सब चरीले योजनाबद्ध रूपमा गरेको थियो भन्ने थाहा पाउन मलाई धेरै समय लाग्यो ।

अर्पण, खुश्बु र चरीको त्रिकोणात्मक प्रेममा प्रहरी अधिकृत कुमोध ढुंगेल कहाँबाट आइपुगे ? उनको नाम किन विवादित छ, यति धेरै ?
खुश्बु र मैले बालसुधारगृह चलाएका थियौँ । कुमोध दाइ दरबारमार्गमा हुनुहुन्थ्यो । उहाँले आफ्नो क्षेत्रमा भेटिएका बालबालिका हाम्रो सुधारगृहमा पठाउनुभएको थियो । त्यही क्रममा हामी तीनजनाको चिनजान भएको हो । उहाँले एक दिन खुश्बुलाई चरीसँग दरबारमार्गमा देखेपछि छक्क पर्नुभएछ । तिमीजस्तो असल मान्छे त्योजस्तो गुन्डाको पछि किन लाग्छ्यौ, तिम्रो भविष्य बिग्रिन्छ भनेर उहाँले सम्झाउनुभएको रहेछ । तर, खुश्बुले सल्लाह मान्नुको सट्टा सबै कुरा चरीलाई भन्नुभएछ । त्यसपछि चरीले पनि कुमोध सरलाई आफ्नो दुश्मन ठान्न थालेको हो ।

पैसा खर्च गरेर प्रहरी परिचालन गर्ने र कसैको इन्काउन्टर गराउन सक्ने हैसियत तपाईंसँग छ कि छैन ?
पहिलो कुरा त कुनै व्यक्तिले पैसा खर्च गर्दैमा देशको प्रहरी संगठन र सरकारले मान्छे मार्छ भन्ने मलाई लाग्दैन । दोस्रो कुरा, चरीमाथि भएको प्रहरी कारबाही जायज हो कि होइन भन्ने विषयमा फैसला गर्ने हैसियत पनि मेरो छैन । तेस्रो कुरा, मेरो परिवार ठिकैसँग चलेको छ । तर, त्यति धेरै पैसा छैन । किनकि खुश्बुलाई अक्सफोर्डमा पढाउँदा, उहाँलाई देश–विदेश घुमाउँदा मैले कलंकी, बालकोट र बिजुलीबजारमा तीनवटा घर बेच्नुपर्‍यो । तैपनि खुश्बुले माया गरुन्जेल म दु:खी थिइनँ । उनीहरूले नै मलाई दु:खी बनाए ।

 नयाँपत्रिका/ उमेश चौहान


  •  
  •  
  •