काठमाडौं, २३ साउन (ओएनएस) : प्रहरी इन्काउन्टरमा मारिएका भनिएका अपराधिक पृष्ठभुमीका एमाले धादिङका क्षेत्रीय उपाध्यक्ष दिनेश अधिकारी चरीको इन्काउटर फर्जि भएको एमाले धादिङले दाबी गरेको छ । एमाले धादिङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रहरीले नियोजित रुपमा चरीको हत्या गरेको आरोप लगाएको छ ।
घटनास्थलको प्रकृतिअनुसार चरीलाई अनेत्रै मारेर प्रहरीले भीमढुंगामा ल्याएको एमालेको दाबी छ । एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमी त्रिपाठीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामीलाई दिनेश अधिकारी जीवितै रहँदा उनी स्वयंले दिएको सूचना र उनको परिवारजनले हाल दिएको सूचनाका आधारमा उनको हत्यामा प्रहरी निरीक्षक कुमुद ढुंगेल संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौं । निजले दिनेशको परिवारजनकै सामु जसरीपनि हत्या गरिछाड्ने धम्की पटक पटक दिएका थिए ।’
बिहीबार करिब ५ बजे प्रहरीको जवाफी कारबाहीमा काठमाडौंबाट धादिङतर्फ जाने बाटो भीमढंगामा चरीको मृत्यु भएको प्रहरीले दावी गरेको छ । तर, एमालेले भने सो घटना सुनियोजित भन्दै संसदमा समेत हंगामा गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले पनि घटनाबारे संसदीय छानविन हुनुपर्ने बताएका छन् । सभामुखले घटनाबारे जानकारी दिन रुलिङ पनि गरेका छन् । चरी विभिन्न समयमा पक्राउ परे पनि एमाले नेताहरुको दबाबमा छुट्दै आएका थिए । गृहमन्त्रालय एमालेकै उपाध्यक्ष वामदेव गौतमले सम्हालेको बेला भएको यो घटनाले एमाले भित्र पनि हंगामा मच्चाएको छ ।