चरी मारिएको विषयलाई लिएर एमालेमा विवाद

356
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) : चर्चित डन दिनेश अधिकारी ‘चरी’ मारिएको घटनालाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम र धादिङका एमाले नेताहरुबीच अहिले छलफल भइरहेको छ । धादिङ क्षेत्र नं १ का पूर्व एमाले उपाध्यक्षसमेत रहेका चरी हिजो प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

एमालेले नै गृहमन्त्रालय सम्हालेको समयमा आफ्नै पार्टीका पूर्व क्षेत्रीय उपाध्यक्षलाई प्रहरी कारवाहीमा मारिएको घटनाबारे पार्टीको धारणा तय गर्नका लागि गृहमन्त्री र धादिङका एमाले प्रतिनिधिबीच छलफल भइरहेको हो ।

स्रोतका अनुसार चरीले एमालेमा सक्रिय राजनीति गर्दा उनी केपी ओली पक्षमा थिए । तर पछिल्लो समय उनले एमालेभित्र गुट परिवर्तन गरेका थिए । धादिङकै एमाले नेता राजेन्द्र पाण्डेले नवौं महाधिवेशनमा माधवकुमार नेपालको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएपछि चरी पनि नेपाल समूहमै लागेका थिए । त्यसैले ओली पक्षले चरीलाई पछिल्लो समय उपेक्षा गरेको थियो ।

क्याम्प परिवर्तन गर्नु नै चरीका लागि घातक भएको जानकारहरुको बुझाइ छ । नेपाल पक्षले ओली पक्षलाई ‘डनवाद संरक्षण गरेको’ आरोप लगाइरहँदा नेपाल पक्षमै सामेल भएका चरीमाथिको प्रहरी कारवाहीबाट ओली पक्षले ‘डनवाद’ विरुद्ध गतिलो जवाफ दिएको हो ।

चरीमाथिको कारवाहीले एकातिर गृह प्रशासनमाथि लाग्दै आएको ‘डनवाद’ को आरोपको प्रतिवाद गरिएको छ भने ओली पक्षमा क्रियाशील ‘डन’हरुलाई प्रतिश्पर्धाविहीन बनाइएको स्रोतको दाबी छ ।


  •  
  •  
  •