काठमाडौं, २३ साउन (ओएनएस) : डन दिनेश अधिकारी चरी मारिएपछि अन्य डनको भागाभगि भएको छ । चरी प्रहरी इकाउन्टरमा मारिएको प्रहरी दाबी छ । एमाले धादिङका क्षेत्रीय उपाध्यक्षसमेत रहेका चरी मारिएपछि एमालेले यो घटनलाई राजनीतिकण गर्ने प्रयास गरिरहेका बेला प्रहरीले गुण्डागर्दी नियन्त्रणका लगि थप सक्रियाता बढाएको छ । प्ररहीले सक्रियता बढाउनु र चरी मारिनुले अन्य गुण्डाको पनि सातो गएको एक प्रहरी अधिकारी बताउृँछन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरू गुन्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको जानकारी दिए । उनले चरी मारिनु हुँदैनथ्यो भन्दै नेपाली जनता मरेकोमा प्रहरी दुःखी भएको प्रतिक्रिया दिए । तर, प्रहरीले आत्म रक्षाका लागि गोली चलाउँदा चरी मारिएको दाबी गरे । उनले प्रहरीले अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानप्रदत्त कानुनअनुसार कामकारबाही गरेको दाबी गरे। आत्मरक्षाको अधिकार सबैलाई हुने उनले बताए । प्रहरीमाथि पहिला गोली प्रहार नगरेको भए घटनाले अर्को मोड लिनसक्ने उनले बताए ।
राजधानीमा गुन्डागर्दी मौलाएको दाबी उनको छ। फरार अपराधी खोज्ने प्रक्रियामा उपत्यकामा ठूलो संख्यामा प्रहरी टोली खटिएको दाबी उनले गरे। कार्कीले प्रमाण भेटिएमा अन्यलाई पनि समातेर कारबाही गर्ने बताए । प्रहरीले निगरानीमा राखिएका अन्य गुण्डाका नाम भने खुलाएको छैन ।
चरीको शव पोस्टमार्टमका लागि प्रहरीले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई बिहीबार पत्र पठाए पनि पोस्टमार्टम हुन सकेन। शुक्रबार बिहानसम्म पनि चरी शव आफ्न्तले बुझेका छैनन् । उनीहरुले गोली प्रहार गर्ने र आदेश दिने प्रहरीमाथि कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् ।
चरीका परिवारलाई एमाले धादिङका सभासदहरुको पनि साथ छ । धादिङका एमाले सभासद् राजेन्द्र पाण्डे, गुरुप्रसाद बुर्लाकोटी र धनबहादुर घलेले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई भेटेर चरीको सुनियोजित हत्या भएकाले छानबिन माग राखेपछि अस्पताल परिसर छाडेर प्रदर्शनकारी एमाले पार्टी कार्यालय बल्खु घेर्न पुगेका थिए। चरी पनि धादिङका हुन्। उनी एमाले धादिङका जिल्ला नेता थिए। प्रहरीले अस्पताल परिसरमा सुरक्षा स्थिति बलियो बनाएको थियो।