उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट कुनै खतरा नभएको दाबी

255
  •  
  •  
  •  

एजेन्सी । उत्तर कोरियाले गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको जनाइएको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको हो ।  उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

EUROPEAN PHOTOPRESS AGENCY

उक्त क्षेप्यास्त्रहरु करिब ४ सय ३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ ।

उत्तर कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् ।

उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो ।

सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।’


  •  
  •  
  •