चन्द नेतृत्वको नेकपालाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

387
  •  
  •  
  •  

भैरहवा, २७ फागुन(ओएनएस) : गृहमन्त्री रामबहादुर थापाले संविधान प्रतिकुल हुने गतिविधिलाई नियन्त्रण गर्ने बताएका छन् ।

भैरहवामा आयोजित प्रदेश पाँचस्तरीय सुरक्षा गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री थापाले अपराधिक गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्ने बताए ।  संविधानमा व्यवस्था नै नभएको जनमत सग्रह सरकारले गर्न नसक्ने पनि स्पष्ट पारे ।

सिके राउतसँग भएको ११ बुँदे सहमतिमा राउतले स्वतन्त्र मधेशको मुद्दा त्यागेको दावी गर्दै मन्त्री थापाले सरकारले बिखण्डनकारी शक्तिसँग सम्झौता गरेको र स्वतन्त्र मधेश गठबन्धनले आत्मसर्मपण गरेको दुवै विषय हल्ला मात्रै भएको बताए ।

मन्त्री थापाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती रहेको बताउँदै त्यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको बताए । चन्द नेतृत्वको नेकपालाई उनले अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन समेत आग्रह गरे ।

आइतबारदेखि शुरु भएको सुरक्षा गोष्ठीमा तीनवटै सुरक्षा निकायका प्रमुख, गृह सचिव प्रेमवहादुर राई, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेश ५ का प्रमुख सचिवहरुको सहभागिता रहेको छ ।


  •  
  •  
  •