भूकम्पपछिको पुननिर्माण अवसर कम चुनौती बढी

406
  •  
  •  
  •  

भदौ २१ (ओएनएस) : गएको बैशाख १२ र २९ गतेको भूकम्पका कारण देशभर ८ हजार ९ सय ६९ जनाले ज्यान गुमाए । सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ५७ जनाको ज्यान गुमेको छ । अर्थात मानवीय क्षतिको झण्डै आधा हिस्सा सिन्धुपाल्चोकले व्यहोर्नु परेको छ ।

सिन्धुपाल्चोकका ६८ हजारभन्दा बढी घरमध्ये ढुँगामाटोबाट बनेका ९८ प्रतिशत र आरसीसी भवन ५० प्रतिशत पूर्णरुपमा क्षति भएको सरकारी तथ्याङ्कले देखाउँछ । ५ सय ५६ मध्ये ५ सय ४७ विद्यालयका ४ हजार ९ सय ६२ कक्षा कोठा र ५ सय ४७ शौचालय (छात्र छात्रा) क्षति भएको छ ।

६८ गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेकोमा ८० प्रतिशतभन्दा बढी घरधुरीमा बनेका शौचालय भूकम्पका कारण भत्केका छन् । सरकारी तथ्याङ्क अनुसार ६ सय ९१ खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानीका मुलहरु सुकेका छन् ठाउँ सरेका छन् । १ सय ५३ खानेपानी आयोजनामा पूर्ण क्षति । ५ सय ३८ आयोजनामा आँशिक क्षति पुगेको छ । २ लाख ६२ हजार ७ सय ७३ नागरिक प्रभावित भएका छन् ।

भूकम्पपछि सरकार (जिल्ला दैवी प्रकोप उद्धार समिति) को पहल तथा नेतृत्वमा खोज, उद्धार तथा राहत वितरणको काम भयो । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग पनि भएको छ । अस्थायी आवास निर्माणका लागि सरकारले वितरण गरेको प्रतिपरिवार १५ हजार रुपैंयाँ केहिबाहेक अधिकाँशले पाए । जोखिमयुक्त बस्तीहरुको पहिचान गरी नागरिकलाई प्रतिस्थापनको काम भएको छ ।

४५ गाविसका ६५ बस्तीलाई उच्च जोखिमयुक्त बस्तीको रुपमा पहिचान गरी नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम गरिएको जिल्ला विकास समितिले जनाएको छ । भूकम्पबाट क्षति भएका विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माणका साथै खानेपानी र शौचालयको व्यवस्था गर्दै बालबालिकाको मनबाट भूकम्पको डर कम गराउन बालमैत्री स्थान पनि सञ्चालन भए ।

भूकम्प गएको ४ महिना बितिसकेको अवस्थामा अब सबैको ध्यान पुनस्थापना मार्फत पुननिर्माणमा जानु जरुरी छ । कसैले नवनिर्माण गर्नु पर्ने बताउँदै आएका पनि छन् । भूकम्पबाट प्रभावित जिल्लाका ध्वस्त संरचनाहरुको पुननिर्माण, पहिलेकै अवस्थामा पुर्याउनका लागि जिविको पार्जनका आयामको खोजी तथा सामाजिक पुननिर्माण अबको मुख्य चुनौती छ ।

छरिएर रहेको बस्तीलाई एकीकृत गराउँदै भूकम्प प्रतिरोधी संरचना बनाउन र सडक फराकिलो पार्ने लगायतका काम गर्नका लागि अवसरभन्दा बैशाख १२ र २९ को भूकम्प बढी चुनौतीपूर्ण छ । धेरै ढिला गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत पाए पनि त्यसले वैधानिकता नपाउनु पहिलो चुनौती हुनसक्छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण विधेयक जारी भएको २ महिनाभित्रै संसदबाट पारित हुनु पर्नेमा अझै संसदमा पेश नभएकोले दाताहरुले पनि शंका गरेका छन् । भूकम्प गएको ४ महिना बितिसक्दा पनि प्राधिकरणको वैधानिकता नैं अन्योल भएपछि नागरिकले पुननिर्माणको अपेक्षा कसरी गर्ने ?

सरकारी तथ्याङ्क अनुसार सिन्धुपाल्चोकका २५ दशमलव ४ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेको देखाउँछ । भूकम्पपछि अस्थायी आवासमा बसेका गरीब परिवारका लागि स्थायी आवास निर्माण गर्नु अर्को चुनौती छ । अधिकाँश नागरिकले भत्किएका घरमा भग्नावशेष हटाउन पनि सकेका छैनन् । यस्तो परिस्थितिमा सबै सुविधा उपलब्ध भएको/हुनसक्ने खालको एकीकृत तथा सुरक्षित बस्ती निर्माणको काम कत्ति सजिलो होला ?

भत्किएका सडक तथा पुलको मर्मत तथा पुननिर्माण गर्नु पर्ने अर्को टड्कारो विषय हो । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे तातोपानी सडकखण्ड खुलाउन नसकिएका कारण त्यसक्षेत्रका नागरिकको सदरमुकाम तथा राजधानीसँगको सम्पर्क टुटेको छ । चीनको खासाबाट सामाग्री भित्रन नपाउँदा एक त दशैंको बेलामा मुल्यबृद्धि हुने सम्भावन प्रष्ट छ अर्कोतिर राजश्व संकलन पनि ठप्छ छ । यसले अन्तत विकास प्रक्रियामैं वाधा पुर्याउने हो ।

नागरिकको जीवनशैलीलाई पहिलेकै अवस्थामा फर्काउन तथा आर्थिक अवस्था मजवुत बनाउन जविको पार्जनका कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । त्यसका लागि सहुलियत ऋण तथा सहकारी प्रवद्र्धनका कार्यहरु गर्नु जरुरी छ । यसका साथै भत्किएका सिंचाई कुलो मर्मत तथा पुननिर्माण, उन्नत जातका बीउ तथा मल, विषादीमा अनुदान लगायतको सहयोग पनि अर्को आवश्यकता छ ।

भत्किएका ध्वस्त भएका खानेपानी आयोजनाको पननिर्माण तथा मर्मत सम्भार, शौचालय निर्माण तथा सरसफाई प्रवद्र्धनका कार्यहरु पनि प्राथमिकतामा राखिनुपर्छ । अस्थायी रुपमा सञ्चालनमा आएका विद्यालयमा स्थायी संरचना निर्माण, शैक्षिक सामाग्री, फर्निचर तथा पुस्तकालय सहयोग पनि शिक्षाक्षेत्रमा गर्नै पर्ने काम हो । यसका साथै गरिब बालबालिकाका लागि पोशाक, छात्रबृत्ति, शैक्षिक सहयोग लगायतको सहयोग पनि जरुरी छ ।

सिन्धुपाल्चोक जिल्ला भूकम्प अगाडी पनि मानव विशेष गरी चेलिबेटी बेचबिखन हुने जिल्लामध्ये अग्रपंक्तिमा पथ्र्यो । भूकम्पपछि भएको श्री सम्पत्ती गुमेको र आयआर्जनको स्रोत नभएको अवस्थामा रोजगारीका लागि मानव बेचबिखनमा परेका घटनाहरु सार्वजनिक भैरहेका छन् । त्यसका लागि मानव बेचविखन बिरुद्ध पैरवी तथा वकालतका कार्यक्रमहरु गाउँ गाउँमा पुर्याउनु जरुरी छ । बाल संरक्षण सम्बन्धीका कामहरुको पनि खाँचो छ ।

घर निर्माणमा संलग्न मजदुर मिस्त्रीका लागि क्षमता विकास तथा सीपमुलक तालिम पनि जरुरी छ । सिन्धुपाल्चोकमा मात्रै ६० हजार भन्दा बढी निजी घरहरु र सयौं सरकारी भवनहरु बनाउनु पर्ने छ । त्यसका लागि अहिले घर निर्माण गरिरहेका र काम गर्न चाहने युवा जनशक्तिलाई भूकम्प प्रंतिरोधात्मक घर बनाउने तरिका सिकाउनु पर्छ । जसले स्थानीय स्तरमैं रोजगारीका अवसर सृजना गर्छ भने भूकम्पबाट सुरक्षित संरचना बन्छन् ।

अर्को महत्वपूर्ण कुरा एकीकृत बस्ती निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनु पनि फलामको चिउरा चपाउनु सरहको काम छ । एतातिर नागरिक आफु बसिराखेको, खेतीपाती गरिराखेको जग्गा जमिन (आफ्नो थात थलो) छाडेर अन्यत्र जान नसक्ने अर्कोतिर बस्तीका लागि सुरक्षित जग्गा प्रशस्त नहुने हुँदा चुनौती देखिन्छ ।

यतिमात्रै होइन खोज्दै जाने हो भने चुनौती अरु पनि भेटिन्छन् । तर मुख्यकुरा अब हामीले बनाउने संरचना सुरक्षित हुनुपर्छ । विपदबाट क्षति हुन नदिन हामी आजैबाट सचेत हुनुपर्छ । पुननिर्माण र नागरिकलाई सुरक्षित महशुस गराउने कामको नेतृत्व सरकारी निकायले लिनुपर्छ । किनकी सरकार बलियो नभएसम्म नागरिक पनि बलियो हुन सक्दैनन् ।

पुननिर्माण अभियान सरकार वा कुनै गैरसरकारी संघ संस्था वा राजनीतिक दलको नभई हामी सबैको एजेण्डा हो र हुनुपर्छ । आफैंले सक्ने कामका लागि अरुको मुख ताक्यौं भने परनिर्भरता अझ बढ्दै जान्छ ।


  •  
  •  
  •