चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

195
  •  
  •  
  •  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न संघलाई आग्रह गरे ।
विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन संघलाई उनले आग्रह गरे ।
चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने मन्त्री बाँस्कोटाको भनाइ छ ।

संघका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गरे ।
२०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट संघका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उनले कानूनबमोजिम त्यो जग्गा उपलब्ध गराउन माग गरे ।
अध्यक्ष खड्काले त्यो जग्गा दिन नसकिने भए अन्यत्र शोध भर्ना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्री बाँस्कोटलाई बुझाएका थिए ।

संघले यसअघि नै विधेयकको कलाकार परिभाषामा कलात्मक, सिर्जनात्मक, बौद्धिक, सीपमूलक र श्रम गर्नेलाई बुझाउने भन्ने शब्दावली मात्र प्रयोग गरेकामा अभिनयमूलक शब्द पनि थप गरिनुपर्ने माग गरेको थियो ।
संघको नयाँ नेतृत्व डेढ महीना अघि निर्वाचित भएको थियो ।


  •  
  •  
  •