सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै चाडपर्व मनाउन सरकारको आग्रह

117
  •  
  •  
  •  

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए।

उनले भने, ‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका उच्च जोखिममा छ। आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्‍याउन सक्छ । आफूले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।’

उनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दसैँ तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरे । आफू स्वस्थ रहे फेरि पनि चाडबाड मनाउन सकिने उल्लेख गर्दै उनले काठमाडौँबाट गाउँ जाने र गाउँबाट काठमाडौँ आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताए ।

ज्ञवालीले ६० वर्षभन्दा मुनिकाको संक्रमणदर र त्यसपछि मृत्युदर पनि तुलनात्मक रुपमा कम भए पनि ६० वर्षभन्दा माथिकालाई जोखिम बढी भएको बताउँदै आशिर्वाद दिनेहरुलाई बचाउनुपर्ने बताए। उनले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नारा तय गरेको छ । आशिर्वादलाई बचाऔं। आशिर्वाद हामीलाई पछिसम्म पनि चाहिन्छ ।’


  •  
  •  
  •