प्राधिकरणका सिइओलाई सरकारले सोध्यो स्पष्टीकरण

92
  •  
  •  
  •  

काठमाडौँ, १५ पुस ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञवालीलाई बिहीबार नै स्पष्टीकरणपत्र पठाएको मुख्यसचिव डा. सोमलाल सुवेदीले बताए । ‘सात दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने, ‘बिहीबार नै चिठी दिइसकिएको छ ।’ पुनर्निर्माणको काम सुस्त भएको र भूकम्पपीडितले समयमै आवास अनुदान नपाएको भन्दै ज्ञवालीसँग सरकार रुष्ट थियो ।

अघिल्लो सरकारले सिइओ नियुक्त गरेका ज्ञवालीको काम–कारबाहीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमा नै आलोचना गरेका थिए । १० पुस ०७२ मा प्राधिकरणका सिइओ नियुक्त भएका ज्ञवालीलाई एक वर्ष चार दिनपछि हटाउने प्रक्रिया सरकारले थालेको छ । नगर विकास कोषका कार्यकारी निर्देशक रहेका ज्ञवालीलाई सरकारले पाँच वर्षका लागि प्राधिकरणको सिइओ नियुक्त गरेको थियो । नयाँ पत्रिकाबाट


  •  
  •  
  •