सहकारी दिवसमा ललितपुरका २८ सहकारीकर्मी सम्मानित

264
  •  
  •  
  •  

ललितपुर, २० चैत (ओएनएस) : राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले २० वटा डिभिजन कार्यालय तत्काल बिस्तार गर्न सरकारसँग माग गरेकी छन् । सरकारले २ वर्ष अघि नैं थप २० जिल्लामा डिभिजन सहकारी कार्यालय बिस्तार गर्ने निर्णय गरे पनि कार्यान्वयन नगरेको उनको भनाइ छ ।

५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रबार ललितपुरको मँगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले भनिन्, ‘सरकारले २ वर्ष अगाडी ल्याएको नीति अझै कार्यान्वयन गर्न सकेको छैन । त्यस्तै २० जिल्लामा डिभिजन सहकारी कार्यालय बिस्तार गर्ने निर्णय गरेको २ वर्ष भैसक्दा पनि कार्यान्वयन भएको छैन । हामी चाहन्छौं सहकारीलाई व्यवस्थित गर्न र नियमन गर्नका लागि छिट्टै बिस्तार हुनुपर्छ ।’

संविधानसभाका सदस्यसमेत रहेकी ओमदेवी मल्लले संसदको अथृ समितिले समेत यस विषयमा सरकारलाई आवश्यक निर्देशन दिइसकेको बताइनन् । गरिबी निवारण तथा सहकारी मन्त्रालय भए पनि बजेट सबै गरिबी निवारण मन्त्रालयबाट खर्च भैरहेको बताउँदै उनले सहकारीको विकास तथा उन्नतीका क्षेत्रमा पनि बजेट खर्च गर्न पाउनु पर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘सन् २०११ देखि २०२० सम्मलाई सहकारी दशकका रुपमा घोषणा गरिएको अवस्थामा अब सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित नभइ व्यावसायिक बन्नुपर्छ, सहकारीकर्मीलाई पनि व्यावसायिक बनाउनुपर्छ ।’ आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजको दिन राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा सहकारी क्षेत्रमा योगदान पुर्याएका ललितपुरका २८ सहकारीकर्मी सम्मानित भएका छन् ।

राष्ट्रिय सहकारी दिवस जिल्ला मुलसमारोह समिति ललितपुरले मँगलबजारमा आयोजना गरेको कार्यक्रममा १५ वर्ष वा त्योभन्दा बढी समय काम गरेका सहकारीकर्मीलाई सम्मान गरेको हो । २३ जनालाई दीर्घसेवी कर्मचारी सम्मान प्रदान गरिएको जिल्ला सहकारी संघ ललितपुरले जनाएको छ ।

यस वर्ष ४ वटा सहकारी संस्थालाईै उत्कृष्ठ सहकारीका रुपमा सम्मानित गरिएको व्यबस्थापक तेजप्रसाद बजगाईले जानकारी दिए । गोटिखेलको शुभकामना बचत तथा ऋण सहकारी संस्था, ठेचोको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी, नवहालको पद्मावती बचत तथा ऋण सहकारी र लगनखेलको शुभकामना बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ठ घोषित भएको उनको भनाइ छ ।

त्यस्तै रत्नमान तुलाधर, देबेन्द्रबहादुर खत्री र स्व. सुश्री यान्जी शेर्पा (मरणेपरान्त) लाई पुराना सहकारीकर्मीका रुपमा सम्मान गरिएको छ । डिभिजन सहकारी कार्यालयमा कार्यरत कर्मचारीमध्ये प्रेमनारायण खनाल र जगन्नाथ बुढाथोकीलाई पनि सम्मान गरिएको जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले जानकारी दिए ।

दिवसका अवसरमा विहान लगनखेल बसपार्कबाट जावलाखेल, पुल्चोक, गावहाल हुँदै मँगलबजारसम्म सहकारी प्रभातफेरी आयोजना गरिएको थियो । ललितपुर जिल्लामा विषयगत तथा बहुउद्देश्यीय गरी एकहजार एक सय ५० वटा सहकारी संस्था सञ्चालनमा रहेको डिभिजन सहकारी कार्यालय ललितपुरले जनाएको छ ।


  •  
  •  
  •