छलफल सुरुभयो, प्रक्रिया अन्यौलमा

274
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर (ओएनएस) : संवैधानिक राजनितिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमाथि सोमबारदेखि संविधानसभामा छलफल सुरु भएको छ । फेरि पनि सहमति जुटाउन यो प्रतिवेदन संवाद समितिमै फर्काउने कि संविधानसभाले टुङग्याउने भन्नेमा दलहरु विभाजित देखिएका छन् । ंसबाद समितिका सभापति डा. बाबुराम भट्टराईले गएको बुधबार बुझाएको प्रतिवेदन चार दिन सभासद्हरुले अध्ययन गरेपछि त्यसमाथि छलफल सुरु भएको हो । छलफल सुरु भएपनि छलफल सकिएपछि के गर्ने भन्नेमा दलहरु अन्यौलमा छन् । संविधानसभा पनि अलमलमा छ ।

दलहरुबीच मतभेद

दलहरुबीच संविधानसभामै विवाद टुङ्गो लगाउने वा सम्वाद समितिले पेश गरेको प्रतिवेदन संविधानसभाको सम्वाद समितिमा फर्काउने भन्नेमा विवाद भएको छ । संविधानसभाको बैठकमा धारण राख्ने क्रममा सत्तापक्ष र प्रतिपक्षदलहरुबीच विवाद देखिएको छ । सयुक्त प्रस्ताव पेश गरेका सत्तासिन कांग्रेस एमालेले संविधानसभामा नै विवादको टुङ्गो लगाउनुपर्ने बताएका छन् भने एकीकृत माओवादीले सहमतिका आधारमा सम्वाद समितिबाटै टुङ्गो लगाउनुपर्ने बताएका छन् ।  एकीकृत नेकपा माओवादीले संविधानसभा जारी गर्ने मिति सारेर भएपनि सहमतिबाटै संविधान जारी गर्नुपर्ने बताएको छ ।

एमाओवादी महासचिव कृष्णबहादुर महराले सहमतिका आधारमा संविधान जारी गर्ने समय अपुगभए मिति नै सार्न सकिने बताए । उनले सहमतिका लागि फेरि संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिमा प्रतिवेदन फर्काउनुपर्ने बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस एमालेको सात प्रदेशको अवधारलाई अन्तिम रुप दिनुपर्ने बताए । उनले  प्रतिवेदन सम्वाद समितिमा फर्काउन नहुने र संविधानसभाबाटै टुङ्गो लगाउन पनि संविधानसभालाई आग्रह गरे ।
एमाले उपाध्यक्ष भीम रावलले संविधानसभाको संम्वाद तथा सहमति समिति नै असफल भएको टिप्पणी गरे । उनले संविधानसभाले प्रतिवेदनलाई विशेष प्रक्रिया अपनाएर भएपनि संविधानसभा भित्रै टुङ्गो लगाउनुपर्ने बताए ।  संविधानसभामा चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दललाई सहमति र छलफलको प्रक्रियाबाट बाहिर राखिएको पोखे ।

छलफल हुदाँ सवै सभासद्को हात हातमा रातो खोल सहितको प्रतिवेदन थियो । सहमतिको कुनै ठोस बिकल्प प्रस्तुत गर्नुभन्दा सवैजसो सभासद्को धारणा प्रतिवेदन फेरि समितिमा पठाउने कि नपठाउने भन्नेमै केन्द्रित छ । संविधानसभाको बैठक मंगलबार बिहान ११ बस्ने फेरि बस्नेछ ।


  •  
  •  
  •